बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ ।
रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो । भदौरे मेला ठिनीबासीको प्रमुख पर्व हो ।
आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौले मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको बताउनुभयो ।
“ठिनीबासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो,” उहाँले भन्नुभयो “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुले पनि कार्यब्यस्तताले समय दिन नसकेपछि मेलाको समय अवधी छोटाइएको हो ।”
विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र जेष्ठ नागरिकहरुको भरमा भदौले मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्री लगायतका नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो । पहिले युवाहरु मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुन्छन् ।
खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेहरुलाई मनोरञ्जन र हिउँद शुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन रहेको छ । तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका बस्तिमा जनै पूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् ।
भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका बिकृती, बिसंगतीहरुलाई ब्यङग्य मार्फत खवरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लवका सचिव निरज थकालीले बताउनुभयो । लामाहरुबाट गुम्बामा देवीदेवताको पुजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमुलक नाटकहरु पनि प्रर्दशन हुुन्छ ।
भदौरे मेला र मौलिक नाचहरुलाई लोप हुन नदिन पाका पुस्ताका कलाकारहरुबाट किशोर किशोरीहरुमा नृत्य कला र सिप हस्तान्तरण गराउने प्रयास गरेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो ।
भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आएका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफा लगायत प्राकृतिक, धार्मिक स्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी बाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम बनेका छन् ।