बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ ।
बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको तीन दिनमै आयव्य विवरण सार्वजनिक भएको हो ।
प्रतियोगिता आयोजक न्यु दोभान युवा क्लवका अध्यक्ष उपेन गिरीले रु. चार लाख १३ हजार चार सय ७६ आम्दानी, रु. दुई लाख ८१ हजार एक सय पचास खर्च र संस्थालाई बचत रु. एक लाख ३२ हजार तीन सय पचास भएको जानकारी दिनुभयो ।
बचत भएको मध्य रु. ९९ हजार चार सय ७६ उठाउन बाँकी र रु. ३२ हजार आठ सय ५० नगद बचत रहेको उहाँले बताउनुभयो । बचत भएको रकमलाई अक्षयकोषमा जम्मा गरेर सोको ब्याजबाट संस्थाको गतिबिधी सञ्चालनमा परिचालन गर्ने जनाएको छ । रु. पाँच लाखको अक्षयकोष बनाउने लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
छ वटा विद्यालयको सहभागीतामा बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय माविलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै प्रकाश माविले उपाधी जितेको थियो ।
प्रतियोगितामा बिजेता र उपबिजेताले ४५ र २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । छात्राहरुमा रहेको फुटबल प्रतिभा उजागर गर्नका लागि विगत तीन वर्षदेखि नियमित रुपमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिरहेको क्लवका सचिब बिशाल कार्कीले बताउनुभयो ।