मुख्यमन्त्री पाण्डेद्धारा मुक्तिनाथमा निर्माण भएको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

Gandaki Kotihome

मुक्तिनाथ, । धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको नयाँ सुविधायुक्त भवन निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. तीन करोड ६० लाख भन्दा बढी लगानीमा निर्माण भएको भवनको बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । पाँच रोपनी तीन आना जग्गामा तीन तले ब्यारेक भवन, भान्छाकोठा र शौचालय निर्माणका लागि अमित विल्डर्सले गण्डकी प्रदेश प्रहरी कार्यालयसँग रु. तीन करोड ६० लाख ५२ हजार ८८ मा वि.स. २०७७ चैत २५ गते ठेक्का सम्झौता गरेको थियो ।

अपाङ्गमैत्री क्षमताको भवनको भुई तलामा कार्यालय प्रयोजनका लागि पाँच वटा कोठा रहेको भवनको पहिलो तलामा महिला प्रहरीका लागि महिला मैत्री र पुरुष कर्मचारीहरुका लागि छुट्टै ब्यारेक रहेको छ । भुई तलामा शौचालय सुविधा सहितको पुरुष र महिला हिरासत कक्षहरु छन् । माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, सञ्चार शाखाको कार्यालय र ब्यारेक सहितका कोठाहरु छन् ।

Upper Myagdi transmition line notice

भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन नयाँ भवन उपयोग हुने बताउनुभयो । समाजमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभुति दिलाउन प्रहरीको प्रयासमात्र पर्याप्त नहुने जनाउँदै उहाँले स्थानीय नागरिकको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो। प्रदेश सरकारले प्रहरीलाई अपेक्षाकृत सहयोग गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

Annapurna aarohan ko notice

“संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन । समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षा अनुसार प्रहरीलाई सबै सहयोग गर्न सकिएको छैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायहरुलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथ यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट सञ्चालित थियो । रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब एउटा कोठामा सानो युनिट राखिने र कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद योगेश गौचन थकाली, प्रदेशसभा सदस्य बिकल शेरचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुव अधिकारी, बारगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नमगेल गुरुङल, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनगायत सहभागी हुनुभएको थियो ।


इलाका प्रहरी कार्यालय मुक्तिनाथमा प्रहरी निरीक्षकको कमान्डमा अहिले १३ प्रहरी कार्यरत छन् । यो कार्यालय अन्तर्गत इलाका प्रहरी छुसाङ र प्रहरी चौकी कागबेनी पर्छन् । समारोहमा भवन निर्माण र जग्गा प्राप्तिका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...