बेनी, ः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम मार्फत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको रु. १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका कोषाध्यक्ष निकेश शेरचनले बताउनुभयो ।
“वि.स. २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिबिधी सञ्चालन गर्न समस्या भएको थियो,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट खेलमैदानलाई ब्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ ।”
एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर रोलरले पेलेर सम्माइएको छ । डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्धार निर्माण गरिएको अध्यक्ष शेरचनले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न संघ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।
मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले जिल्ला सदरमुकाममा ब्यवस्थित खेलमैदानको आवश्यकता महशुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा “एक स्थानीय तह, एक खेलमैदान” कार्यक्रम मार्फत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो ।