बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिउँ पहिरोले शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको छ ।
बोक्सीखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोचमा हिउँपहिरो थुप्रिदाँ बोक्सीखोलामा पानीको मात्रा दुई तिहाईले घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताउनुभयो ।
“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिउँपहिरो खसेर खोचमा थुप्रिएको हो,” उहाँले भन्नुभयो “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।”
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सीखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।
बेनी–जोमसोम सडकमा यात्रा गर्नेहरुलाई बोक्सीखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ । कोवाङमा रहेका देउबहादुर विश्वकर्माले गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन, प्रहरी र जनप्रतिनीधीहरुको उपस्थितिमा ड्रोन उडाएर हिउपहिरो थुप्रिएको ठाउँको अवलोकन गरिएको जानकारी दिनुभयो ।
हिउँ पहिरो थुप्रिएको ठाउँमा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने विश्वकर्माले बताउनुभयो । खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घासदाउरा गर्न गएका किसानहरु पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।
जनप्रतिनिधी र सुरक्षाकर्मीहरुको टोली जोखिमको अवस्था अध्ययनका लागि हिउँ पहिरो थुप्रिएको ठाउँ अवलोकनका लागि जाने तयारी गरेका छन् ।