सन्तोष गौतम र सुरेन गुरुङ
ढोरपाटन,म्याग्दी, बागलुङ र पुर्वी रुकुमको एक हजार तीन सय २५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको सौन्दर्यमा आन्तरिक पर्यटक लोभिएका छन् ।
शुक्रबार, शनिबार र छुट्टिको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा ५ दिन घुमेर फर्किएका काठमाडौका आशिल सिलवालले साहसिक सिकारसँगै प्रकृति प्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तब्य भएको अनुभव सुनाए ।
‘शान्त वातावरणमा रंगीबिरंगी फुल, छिनछिनमा परिवर्तन हुने मौसम, शितल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्रि सतहदेखि चार हजार १० मिटर उचाईमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका शिलवालले भने ‘थरिथरीका फुलले रंगिएको ढोरपाटन बर्खा याममा झनै रमाइलो छ ।’
ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फुलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । ढोरपाटन पर्यटन प्रर्वद्धन विकास संस्थाका सचिव जिवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषीलो आहारा बुकीले पर्यटक लोभिएका बताए ।
‘असार देखि भदौ सम्म अन्य ठाउँमा पर्यटकको अफसिजन भएपनि ढोरपाटनमा सिजन हो,’ उनले भने ‘केही वर्षअघिसम्म वनपाखामा सिमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको आधार बन्न थालेको छ ।’
सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए ।
पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पुर्वी रुकुमका किसानहरुले ढोरपाटनको बुकीमा गाईभैसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापाले बताए ।
फुलको पहिचान र अभिलेखीकरण गरिदै
ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीका अनुसार साउन देखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षणनै बुकी हो,’ उनले भने ‘यहाँ पाइने फुलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौ ।’
संरक्षण अधिकृत पशुपती अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फुलको तस्विर र स्थानीय नाम संकलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फुलको तस्विर संकलन भएको छ ।
संकलन भएका तस्विरहरुलाई सम्बन्धीत विज्ञहरुको सहयोगमा अंग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए । आरक्षले फुलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईबस्तुको मल उठाउन रोकेको छ ।
वार्षिक १५ हजार पर्यटक
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शिर्षकमा १९ लाख ३३ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको छ ।
ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजार रुपैयाँका दरले शूल्क तिर्नुपर्छ ।
ढोरपाटन शिकार आरक्षका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कडेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ७१ लाख दुई हजार छ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा तीन करोड ४८ लाख राजस्व संकलन भएको थियो ।
सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजश्व बढेको वरिष्ठ संरक्षण अधिकृत कंडेलले बताए । गत आवमा सार्क राष्ट्रका ४ र अन्य देशका १०२ जना पर्यटक ढोरपाटन आएका थिए । तेस्रो मुलुकका पर्यटक सिकारका लागि र नेपालीहरु घुम्नका लागि ढोरपाटन पुग्ने गरेका छन् ।
बुर्तीवाङ देखि ढोरपाटन जोड्ने सडक स्तरोन्नति कार्य जति सक्दो छिटो सम्पन्न गराएमा पर्यटन आगमन अझै बढ्ने स्थानीय ब्यवसायीहरुको भनाई छ ।