बेनी । बेनी बजारको सांस्कृतिक पहिचानको रुपमा रहेको तीन सय वर्षअघि देखि एक महिना सम्म देखाइदै आएको बर्खेनाच शुक्रबारदेखि शुरु भएको छ ।
वि.स. १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएदेखि बर्खेनाच देखाउने परम्परा बसेको हो । नेपाल भाषा मंःका खल र ल्याम पुःचको आयोजनामा लाखे नाच प्रर्दशन गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।
बेनीको गणेश मन्दिर देखि धार्मिक बिधी अनुसार बर्खेको प्रमुख लाखे नाच प्रर्दशन गर्न थालिएको ल्याम पुःचका अध्यक्ष जेनेस श्रेष्ठले बताउनुभयो ।
“परापुर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने चलन छ,” उहाँले भन्नुभयो “परम्परागत समाजमा खेतीबाली लगाएपछि बेनी र आसपासका क्षेत्रका बासिन्दाहरुको लागि बर्खे नाच मनोरञ्जनको माध्यम थियो ।”
बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ । यस वर्ष बर्खे नाच प्रर्दशनका लागि भदौ २१ गतेसम्म समय तालिका बनाइएको छ ।
साउन २५, २६ र २८ गते लाखे, साउन ३२ र भदौ १ गते घोडा, भदौ ३ र ४ गते सापारु÷नागानागिनी, भदौ ७ र १० गते लाखे, भदौ ११ गते श्रीकृष्ण रथयात्रा, भदौ १४ गते जोगी, भदौ १७ गते लाखे नाच प्रर्दशन गर्ने समय तालिका रहेको छ ।
भदौ २१ श्रीकृष्ण जन्माष्टमीका दिन लाखे सहित बर्खेनाच समापन गरिने भएको छ । तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।
कलाकारहरुको अभावमा धेरै जनशक्ति आवश्यक पर्ने हनुमान र रोपाई नाचलाई यसपालीको बर्खेनाचको सूचिमा नराखिएको ल्याम पुःचले जनाएको छ । बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागिनी नाच निकाल्ने चलन छ ।
बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् । कलाकार अभाव भएपछि गत वर्ष बेनीका ५० जना युवा युवतीलाई बर्खे नाच सम्बन्धी तालिम दिइएको थियो ।