म्याग्दी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ जोडिएको भएको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाटको ६ हजार २७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँध देखि वडा नम्बर –३ तिल्केनीचौर जोड्ने सुरुङ ४ वटै अडिटबाट जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।
रघुुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडित नम्बर २ जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङमा संयुक्त रुपमा स्विच थिचेर बिस्फोट गराई ब्रेक थ्रु गर्नुभएको हो ।
अडिट १ बाट ८७५ र अडिट २ बाट १ हजार ४५८ मिटर सुरुङ निर्माण भएको हो । गत फागुनमै जोडिएको ३ हजार ८३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङलाई लाइनिङ (पलास्टर) गर्ने काम भैरहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकोमा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजिकरण, समन्वय गरेको बताउनुभयो ।
रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा पानी खसाल्ने पाइपलाईन राख्ने १ हजार ४९ मिटर लामो प्रेसर सफा्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाईन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माण कार्यलाई प्रमुख उपलब्धीको रुपमा लिने गरिएको छ । सुरुङ ब्रेक थु्र भएकोमा प्राधिकरण, प्रर्वद्धक, निर्माण कम्पनी, परामर्शदाता, जनप्रतिनिधीहरुले खुसीयाली मनाएका छन् ।
सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी)ले वि.स. २०७६ असार ८ गते पिप्ले स्थित अडित नम्बर ३ बाट सुरुङ निर्माण थालेको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । सिभिल तर्फको समग्रमा भौतिक प्रगति करिब ६० प्रतिशत रहेको आयोजना प्रमुख राजबहादुर विष्टले बताउनुभयो ।
२०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परिक्षण गरि आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रोमेकानिकल तर्फको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौता अनुसार आयोजना वि.स. २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण भैरहेको छ ।
बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अवको एक वर्षभित्र राहुघाटको परिक्षण उत्पादन गर्ने लक्ष्य सहित कामलाई तिब्रता दिएको बताउनुभयो ।