बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ ।
१८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले १५८ वटा योजना उपभोक्ता समिति र २० वटा ठेक्का मार्फत कार्यान्वयन भएका जानकारी दिनुभयो ।
कुल रु. ५७ करोड ३८ लाख ८७ हजार ६०० बजेट बिनियोजन गरेको अन्नपूर्णले रु. ४४ करोड ७६ लाख ७५ हजार ४६० खर्च गरेको जनाएको छ । पुजिगत तर्फ विकास आयोजनाहरुका लागि बिनियोजन भएको रु. २० करोड ८९ लाख ९४ हजार मध्य ६६.०६ प्रतिशत अथवा रु. १३ करोड ८० लाख ६६ हजार ८३६ खर्च भएको लेखापाल प्रेम पराजुलीले बताउनुभयो ।
चालुतर्फ रु. ३६ करोड ४८ लाख ९३ हजार ६०० बिनियोजन भएकोमा रु. ३० करोड ९६ लाख आठ हजार ६३३ खर्च भएको उहाँले जानकारी दिनुभयो । संघीय र प्रदेश सरकारको बिशेष र समपुरक अनुदानमा सञ्चालित आयोजनाहरुको ठेक्का प्रक्रीया र बजेट व्यवस्थापनमा भएको ढिलाईले पुजिगत खर्च कम देखिएको हो ।
गाउँपालिकाले सञ्चालन गरेका पालिका तथा वडा स्तरका आयोजनाहरु भने अधिकांश कार्यान्वयन भएका छन् । पालिका स्तरका २३ र वडा स्तरका १४९ वटा योजनाहरु रहेका थिए । नयाँ आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु कार्यान्वयन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
रु. १ करोड २० लाख बजेट बिनियोजन भएको प्शासकीय भवनको जग्गा प्राप्ति, रु. १५ लाखको राम्चे वडा कार्यालय, रु. १२ लाखको घोडेपानी उल्लेरी मोटरबाटो, रु. ५० लाख बजेटको अन्नपूर्ण आधार शिविर पूर्वाधार निर्माण, १५ लाख बजेट भएको फोहोर मैला संकलन केन्द्र, १ करोड बजेट भएको भुरुङ तातोपानी र रु. ७० लाख बजेट बिनियोजन भएको प्रशासकीय भवन निर्माण योजना कार्यान्वनय नहुँदा पुजिगत बजेट खर्च कम देखिएको हो ।
गत आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन भएको सेकार्कु कुण्डमा पूर्वाधार निर्माण, रु. ९० लाख बजेट भएको रुप्से झरनाको पर्यटकीय पूर्वाधार र रु. ८० लाख बजेटको पाउद्धार माविको भवन निर्माण सम्बन्धी योजनाको ठेक्का सम्झौता भएको छ । प्रभा माविको भवन निर्माण योजना बजेट अभावमा प्रभावित बनेको छ ।
प्रदेश सरकारले हस्तान्तरण गरेको छेम्दी कृषि सडक निर्माण योजना सम्पन्न भएको छ भने दाना स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।
अन्नपूर्णमा गत आर्थिक वर्षमा ३ किलोमिटर ८८७.७ मिटर सडकको नयाँ मार्ग निर्माण, १ किलोमिटर ६४०.७ मिटर सडक सोलिङ, २७०.३५ मिटर ढलान, ५ वटा कल्भर्ट र ५८८.५ मिटर नाली निर्माण भएको पूर्वाधार शाखाका प्रमुख ईञ्जिनियर इश्वर भण्डारीले बताउनुभयो ।
२ वटा झोलुङ्गे पुल, ४ किलोमिटर २३५.२५ मिटर नयाँ पदमार्ग निर्माण र ९७.७ मिटर पदमार्ग स्तरोन्नति भएको छ । ७ किलोमिटर ६९३ मिटर खानेपानीको पाइपलाइन विस्तार, २ वटा टंकी, ४ वटा सामुदायिक धारा, ३६५ मिटर ढल निकासका लागि पाइपलाइन विस्तार र १६ वटा च्याम्बर निर्माण भएको छ । २ वटा स्वास्थ्य संस्थाको भवन, २१ वटा सामुदायिक भवन निर्माण, १८ वटा सामुदायिक भवन मर्मत, मनसुनजन्य विपद्बाट क्षतिग्रस्त २ वटा निजी आवास पुननिर्माण भएका छन् ।