भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

Add Samajik bikash office

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।

२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउन महिनामा रु. ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।

प्राबिधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवत जावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्गाउन बाँकी छ,” उहाँले भन्नुभयो “यस पुलले स्थानीयबासीलाई आवत जावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।”

Shreekrishna hardwear in news

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्धार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताउनुभयो ।

“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरिर डुबाएर स्नान र उपचार गर्नेहरुको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो,” उहाँले भन्नुभयो “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुदै ४० मिनेट घुमाउरो बाटो हिड्नु पर्दथ्यो ।”

Bhautik ministry notice about road

कुल रु. १ करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा रु. १२÷१२ लाख बजेट बिनियोजन भएको थियो । म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २०८० जेठ महिनामा भौतिक मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु. ९ लाख थप बजेट व्यवस्थापन गरेर बहुबर्षीय ठेक्का लगाउन स्विकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो ।

डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कुल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५÷०७६ देखि नियमित बजेट बिनियोजन भएपनि कार्यान्वयन भएको थिएन् ।

म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताउनुभयो ।

“२०७६ सालमा निर्माण स्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो,” उहाँले भन्नुभयो “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरेपनि लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।”

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन, जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने सांसद भण्डारीले बताउनुभयो । पाउद्धार तातोपानी कुण्डलाई अन्नपूर्ण गाउँपालिकाले पिपिपि मोडेलमा सञ्चालन गर्ने प्रक्रीया अघि बढाएको अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...