ताराखोलामा असारे मेलाको रमझम

Add Samajik bikash office

ताराखोला, । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देवीदेवता पूज्ने पर्वका रुपमा लिइन्छ ।

मेला आयोजक असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले असारे मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र खेल प्रतियोगिता राखिएको जानकारी दिनुभयो । मौलिक गीतनाच र झाँकी मेलाका विशेष आकर्षण हुन् । मेलामा पुरुष तथा महिला भलिबल, प्रौढ पुरुष भलिबल, धनुषवाण, स्लो बाइक रेस, भाले छुने, रस्साकस्सी, छेलो, सामूहिक नृत्यलगायतका प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ ।

नयाँ पुस्ताले ‘असारे मेला’का रुपमा संस्कृतिको जगेर्ना गरेपनि जनबोलीमा भने ‘असारे’ भनेर प्रचलित रहेको अध्यक्ष रोकाले बताउनुभयो । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको मगर समुदायका बूढापाका बताउँछन् । आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीका अनुसार डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेका थिए ।

Shreekrishna hardwear in news

असारको उजेली पक्ष पारेर असार मनाउने परम्परा रहेको उहाँको भनाइ छ । मेलाका अवसरमा पूजाआजासहित बली पनि चढाउने गरिन्छ । अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मंगलबार (असारेको पहिलो दिन) बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ। असारेलाई साँचेर कुल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र बाचा बाँध्ने गरिएको संस्कृतिकर्मी घर्तीले बताउनुभयो । यसपालिको असारे मेला सोमबारसम्म चल्ने क्लबका अध्यक्ष रोकाले बताउनुभयो ।

भलिबलको फाइनल स्पर्धासहित समापन समारोह आयोजना गरी यस वर्षको असारेलाई बिदाइ गरिने उहाँले सुनाउनुभयो । गाउँलेले उक्त मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षातमा बाढीपहिराजस्ता प्रकोप नहोस्, रोगव्यादी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पूज्ने चलन रहेको संस्कृतिकर्मी घर्तीले बताउनुभयो । मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बली दिने गरिएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

‘पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुंगामा बली चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ,’ उहाँले भन्नुभयो । १७६६÷०६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेष रुपमा मनाइन्छ । बली र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरेपनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् ।

बर्खे झरीकोसमेत पर्वाह नगरी मानिसहरु हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा साँस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ ।

तीन सय वर्षअघिदेखि असारेको थिती बसेको स्थानीयवासीको विश्वास छ । असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । मेलामा युवायुवती पिङ खेल्ने, मिठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् ।

खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमा समेत असारे मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।

ताराखोला गाउँपालिका–२ अर्गल, वडा नं. ३ हिल, वडा नं. १ अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला आयोजना गर्ने गरिएको छ । हिलमा साउने सङ्क्रान्तिमा मेला लाग्छ । पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले ताराखोलाका विभिन्न गाउँमा गाउँमा मेलापर्वको चलन बसालेका हुन् । भदौरे सिस्नो खोस्ने पर्व, कात्तिकको भुस पोल्ने पर्व, माघे सङ्क्रान्ति, श्रीपञ्चमीलगायत पर्वलाई ताराखोलाका मगर समुदायले विशेष रुपमा मान्दै आएको छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...