बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ ।
आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रानीपौवाको अमरसिंह आधारभूत विद्यालय, पिप्लेको धरमपानी आमा समूह र पिप्ले खानेपानी उपभोक्ता समूहलाई रु. ५ लाख मूल्य बराबरको पाईप, जस्तापाटा, रडक, टेबल, कुर्ची र ग्यावीयन जाली उपलब्ध गराएको हो ।
आयोजना प्रमुख रोशन अग्रवाल र वातावरण इकाईका निर्देशक मिलन दाहालले वडा अध्यक्ष खिमबहादुर शाहीको रोहबरमा सामग्री हस्तान्तरण गरे । अमरसिंह आधारभूत विद्यालयलाई ४÷चार सय केजी ८ एमएम र १० एमएमको रड, २ केजी डण्डी कस्ने तार, १४ थान पलास्टिक कुर्ची र ४ थान पलास्टिकको टेबुल उपलब्ध गराइएको छ ।
धरमपानी आमा समूहलाई १० बण्डल जस्तापाता, पिप्ले खानेपानी उपभोक्ता समूहलाई २०० मिटर २० एमएम र १६ थान ग्यावीयन जाली उपलब्ध गराइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका प्रसाद तिमिल्सीनाले बताए ।
नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सञ्चालन गरेको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन बनाउन लागिएको हो ।