अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्षद्धय खम थापा मगर, सन्दिप खत्री र म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिममा भाषणकला र उद्घोषणकलाको आधारभूत तरिका, क्षमता विकासको बारेमा सहजीकरण गरिएको थियो ।

तालिम समापन समारोहमा बोल्दै वडा सदस्य ताराप्रसाद थापा मगरले नेतृत्व, व्यत्तित्व विकास संगै औपचारिक कार्यक्रमहरुको सञ्चालन र कार्यक्रमहरुमा बक्ताको रुपमा सहभागी हुन तालिमले सघाउने बताउनुभयो । उहाँले तालिममा सिकेका सिप, ज्ञान र तरिकालाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

कार्यक्रममा प्रशिक्षक सन्दिप खत्रीले पहिलो दिनमा परिचय राख्न समेत अप्ठेरो मान्ने सहभागीहरु तालिममा सक्रिय सहभागी भई मञ्चमा उभिएर निर्धक्क कुरा राख्न सक्ने भएकोमा खुसी व्यक्त गर्दै तालिममा सिकेका आधारभूत ज्ञान, सिपलाई आगामी दिनमा निरन्तरता दिएर व्यवहारमा उतार्न सुझाब दिनुभयो ।

कार्यक्रममा तालिममा सहभागी सुजता थापा, लक्ष्मी थापा, गमी थापा र सावित्रि थापाले पहिलो पटक माईक र स्टेजको प्रयोग गरेर बोल्न र कार्यक्रम सञ्चालन गर्न तालिम लिने अवसर मिलेको बताउँदै गाउँ घरमा हुने सार्वजनिक कार्यक्रम, भेला, बैठकहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने क्षमताको विकास भएको भन्दै तालिम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

आमा समूह सञ्जालका अध्यक्ष गौरी थापा मगरको अध्यक्षता र सचिब टिका घिमिरे थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वडा स्तरीय आमा समूह सञ्जालमा वडा नम्बर १ का विभिन्न ११ वटा आमा समूह आबद्ध छन् । सञ्जालले वडा कार्यालयको सहयोगमा धुप बनाउने तालिम र कृषकहरुलाई अचार बनाउने तालिम समेत सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...