बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविका विद्यार्थीहरुलाई ‘पेन्टिङ’ रंग लगाउने तालिम दिइएको छ ।
बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रम मार्फत धवलागिरी माविले विद्यार्थीहरुलाई व्यवहारिक र व्यवसायिक सिप सिकाउन घर तथा भवनमा रंग लगाउने तालिम प्रदान गरेको हो । कक्षा १० का २५ जना विद्यार्थीहरुलाई ७ दिनसम्म रंग लगाउने तालिम प्रदान गरिएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताउनुभयो ।
“२ जना प्रशिक्षकलाई बोलाएर २५ जना विद्यार्थीलाई ७ दिनसम्म रंगरोगन सम्बन्धी आधारभूत तालिम दिएका छौ,” उहाँले भन्नुभयो “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती र मुढा बुन्ने सिप सिकाएका थियौ ।”
रंग लगाउने सिप दैनिक जिवनयापनका अलावा पढाई पुरा गरेपछि व्यवसाय सञ्चालन र रोजगारीका क्रममा उपभोगी हुने विद्यार्थीहरुले बताएका छन् । डिलबहादुर किसान र मुकेश शाहले तालिम दिनुभएको थियो । तालिममा सहभागी विद्यार्थीहरुले विद्यालयको सबै भवनमा रंग लगाएर चिटिक्क पारेका छन् ।
विद्यार्थीहरुको चाहना अनुसार रंग लगाउने तालिम प्रदान गरेको धवलागिरी माविका प्रअ भुवन रेग्मीले बताउनुभयो । रंग खरिद र प्रशिक्षकलाई भत्ता खर्च विद्यालयले उपलब्ध गराएको थियो । बिहान, बेलुकी र छुट्टिमा विद्यार्थीको अनुकुल समयमा आलोपालो गरेर तालिममा सहभागि भएका थिए ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
हाउस वायरिङ, पलम्बीङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सिप मुलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु. १÷१ लाखका दरले बजेट उपलब्ध गराएको छ ।
नगर प्रमुख केसीका अनुसार दुई हजार जना भन्दा बढी विद्यार्थीहरु सिपमुलक तालिममा सहभागि भएका । दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको छ । म्याग्दीमा पलम्बीङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ ।