भेडाबाख्राको सुरक्षामा कुकुरको पहरा

khali

बेनी । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका तुलबहादुर तिलिजा खर्क र जंगलमा भेडाबाख्रा चराउन महिनौसम्म एक्लै बस्छन् ।

४५ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका ६५ वर्षीय तिलिजाको साथी कुकुर हुन् । भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तिलिजाले दुई वटा ‘भोटे कुकुर’ पालेका छन् । फिरन्ते शैलीमा भेडाको गोठ सार्दै लेक–बेशी गर्ने तिलिजा कुकुरनै आफ्नो साथी भएको बताउँछन् ।

‘झरी, बादल, हिउँद, बर्खा केही नभनी एक्लै गोठमा बस्नुपर्छ,’ उनी भन्छन् ‘दिन–रात सँगै हुने कुकुरले म र भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट बचाउछ ।’ तिलिजाले २७० वटा भेडाबाख्रा पालेका छन् । ती भेडाबाख्राको सुरक्षा गर्ने जिम्मा कुकुरकै हो ।

Shreekrishna hardwear in news

१०० वटा भेडाबाख्रा पालेका पाउद्धारका कमल तिलिजा पुनको गोठमा पनि दुई वटा कुकुर छन् । गोठको वरपर रुगेर कुकुरले भेडाबाख्राको सुरक्षा गर्न पहरा दिन्छन् । ‘जंगली जनावर र चोर आएको थाहा पाएपछि कुकुरले भुकेर संकेत गर्छ,’ उनले भने ‘भगाउन नसके भिड्न पनि तयार हुन्छन् ।’

म्याग्दीका अधिकांश भेडाबाख्रा पालक कृषकको पशुधनको सुरक्षा गर्न कुकुरको महत्वपूर्ण योगदान छ । भेडाबाख्रा गोठका लागि कुकुर अनिवार्य आवश्यकता हो । ठूला शरिर भएका देख्दै डरलाग्दा कुकुर गोठमा पालेपछि चोरले आँट गर्दैनन् । बस्ती देखि टाढाको घना जंगल भेडाबाख्राको चरन क्षेत्र हो ।

जंगलमा चितुवा, ब्वासो र स्यालले भेडाबाख्रालाई आक्रमण गरेर घाइते बनाउने र मार्ने जोखिम हुन्छ । ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन् । अनकन्टार जंगल, भिर, पाखामा भेडाबाख्राको सुरक्षा गर्न कुकुर अत्यन्तै भरपर्दो साथी भएको अर्का गोठाला धनबहादुर विश्वकर्माले बताए ।

‘जंगलमा बाघ, भालु र चितुवाको संख्या बढिरहेको छ, पटक–पटक गोठसम्म आएर आक्रमणको प्रयास गर्छन्,’ उनले भने, ‘तर कुकुरको प्रतीकारले उनीहरूको प्रयास विफल हुन्छन्  ।’ राती, साँझ, बिहान गोठमा रहेका वेला कुकुरले भेडाबाख्रालाई सुरक्षा दिन्छन । दिउँसो चरनक्षेत्रमा छरिएको मौका छोपेर जंगली जनावरले कुकुरको आँखा छलेर छेकारो हान्दै भेडाबाख्रालाई आक्रमण गरेर सताउने बिकको दुखेसो छ ।

khali

गोठमा भेडाबाख्राको सुरक्षाका लागि बसेका कुकुर नचिनेको मानिस, जंगली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढे ठूलो स्वरले भुकेर जनाउ दिने अर्का कृषक नन्दबहादुर भण्डारीले बताए  । एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाले साथी र प्रतिबद्ध रक्षकका रूपमा दुईवटा भन्दा बढी कुकुर पालेका छन ।

कुकुरविना गोठको जीवन र भेडाबाख्रापालन सम्भव नहुने धवलागिरी गाउँपालिका–१ गुर्जाका भेडापालक किसान रेशम छन्त्यालले बताए । ‘कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने हुँदा सुरक्षा हुन्छ,’ उनले भने ‘गोठको दैनिकी सहज र सुरक्षित बनाउन कुकुर पालिएको हो ।’

कुकुरलाई आहराका रुपमा बिहान र बेलुका पिठोको खोले पकाएर दिइन्छ । यसका अलावा भेडाको दूध र मासु पनि कुकुरका आहरा हुन् । भेडागोठमा पालिने ठूला शरिर भएका तीस देखि चालीस किलोग्राम सम्म तौल हुने कुकुरलाई “भोटे” भन्ने गरिन्छ । यो जातको कुकुरको छाउरालाई दश हजार रुपैयाँ भन्दा बढी मूल्य तिर्छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० बढी भेडाबाख्राका गोठ छन् । २० हजारको संख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालेका केन्द्रको तथ्याङ्क छ । एक ठाउँमा दश देखि पन्ध्र दिन गोठ राखेर वरपरका खर्क र जंगलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । हिउँदमा बेशी र बर्खामा हिमालको फेदीका खर्कमा गोठ लैजाने गरिन्छ ।

हिमाली क्षेत्रको जडिवुटियुक्त चरन क्षेत्रका घाँस खाएका भेडाबाख्राको मासु स्वादीलो र पोषिलो मानिन्छ । भेडाका साँड पुजाआजामा बली चढाउन प्रयोग हुन्छ । एउटै साँडलाई बीस हजार रुपैयाँ सम्ममा बिक्री गर्छन् । भेडा र खसी खरिद गर्न ग्राहकहरु गोठमै आउने गरेको धवलागिरी–५ मल्कवाङका देवान छन्त्यालले बताए ।

पछिल्लो समय बिदेशबाट फर्किएका युवाहरुले परम्परागत रुपमा गरिदै आएको भेडापालनलाई ब्यवस्थित र ब्यवसायिक बनाउन थालेका भेटेरिनरी अस्पतालका प्रमुख नारायण कुशुमले बताए । ‘चरन क्षेत्रको संरक्षण र गोठ सुधारका साथै विभिन्न रोग बिरुद्धको खोप अभियान सञ्चालन गरेका छौ,’ उनले भने ‘चरन क्षेत्रमा पानीको आपुर्ति गराउन पूर्बाधार बनाउन सघाएका छौ ।’

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...