बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र गरिव विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो । २५० जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएको कोषका संस्थापक थापाले बताउनुभयो ।
सबै विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्नुभएको हो । आफ्ना दिवंगत बुवा र आमाको नाममा थापाले रु. दश लाखको कोष स्थापना गर्नुभएको छ । कोषबाट गत वर्ष १६० र त्यसअघि १०० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
अध्ययन र व्यवसायको शिलशिलामा काठमाडौमा बस्दै आउनुभएका थापा नेकपा (माओवादी केन्द्र)को विशेष प्रदेश समिति सदस्य हुनुहुन्छ । थापाको अगुवाईमा काठमाडौमा १२ वर्षअघि स्थापना भएको क्विक ब्लड सेन्टरले बिरामीलाई रगतको व्यवस्थापन गर्दै आएको छ ।