लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका दलित जनप्रतिनिधि र अगुवाहरुका लागि शुक्रबारदेखि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गाउँपालिकाको केन्द्र लामाखेतमा २ दिनसम्म सञ्चालन हुने तालिमको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।
दलित समुदायका अगुवाहरुलाई जातीय, लैङ्गिक लगायत सामाजिक विभेद अन्त्यका लागि अग्रसर र जागरुक बनाउन कार्यक्रम आयोजना गरिएको जलजला गाउँपालिकाको कार्यपालिका सदस्य भिमसेन बराईलीले बताउनुभयो । तालिममा १४० जनाको सहभागिता रहेको छ ।
तालिममा मानव सम्भयता र समाज विकासक्रम, जातीय छुवाछुत र वर्ढा व्यवस्था, दलित अधिकार सम्बन्धी कानुनी ब्यवस्था, स्थानीय सरकारमा दलित जनप्रतिनिधिहरुको भूमिका, दलित आन्दोलन विगत, वर्तमान र आगामी कार्यदिशा, कानुनले दिएका अवसरहरु र राज्यमा उपस्थिति र दलित शसक्तिकरण आजको आवश्यकता विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।
तालिमको मोदी गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, दुर्गा दर्जी, गणेश बिक, याम परियार शिवले सहजिकरण गर्नुहुने जनाइएको छ । गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बक्ताहरुले कानुनी रुपमा अपराध मानिएको जातीय विभेद र छुवाछुतका विरुद्धमा आवाज उठाउनुपर्ने र कानुनी अधिकारको उपभोग गर्नुपर्ने बताउनुभयो । सामाजिक समानता कायम गर्नका लागि सबैको समान पहुँच कायम गर्नुपर्ने सहभागीको भनाई थियो ।