बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा सडक र सडक पुल अतिक्रमण गरेर निर्माण गरिएको टहरा हटाउन बेनी नगरपालिकाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
जेठ १ गते नगरपालिका कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै हाडेभिरमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर टहरा ७ दिनभित्र हटाउन आग्रह गरेको हो । सम्बन्धित व्यक्ति र व्यवसायीले टहरा नहटाए नगरपालिकाले आफै हटाउने र हटाउन लाग्ने खर्च उनिहरुबाट असुल उपर गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
बेनी नगरपालिका–२ हाडेभिर, म्याग्दी खोलाको पक्की पुलसँगै रहेको साविक ज्यामरुककोट–८ (क) को कित्ता नं. २४ र २५ को सरकारी जग्गामा कुलबहादुर घर्तिमगर समेतका व्यक्तिहरुले अस्थायी टहरा बनाएर भाडामा लगाएको नगपालिकाले जनाएको छ ।
कृषि औजार कारखाना चलाएका घर्तिले टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाउनुभएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरेको थियो । अतिक्रमित जग्गा खाली गर्न अख्तियारले निर्देशन दिएको थियो ।
बेनी नगरपालिकाले पछिल्लो समय अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गरि हटाउनका लागि सक्रीयता देखाएको छ ।