बेनी, । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
जिल्ला अदालत म्याग्दी र नेपाल बार एसोशियसनको म्याग्दी अदालत इकाईको आयोजनामा अदालत परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले न्यायालयको गरिमा र नागरिकको विश्वासलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।
न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने थापाको भनाई थियो । जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डितले कानुनको परिधीभित्र रहेर न्याय सम्पादन गर्नेसँगै नागरिकको संवैधानिक अधिकार स्थापित गर्न अदालतको योगदान रहेको बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खेमराज पाठकले न्याय सम्पादनका क्रममा अपराधको अनुसन्धानमा राज्यका अन्य निकायको पनि सकारात्मक भूमिका रहने बताउनुभयो । नेपाल बार एशोसियन म्याग्दीका अध्यक्ष सागरजिवी उपाध्यायले कार्यपालिका र व्यवस्थापिकाको कामकारबाहीमा सन्तुलन ल्याउन अदालतले भूमिका खेलेको बताउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले गर्नुभएको थियो ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।