लोमान्थाङ ः उपल्लो मुस्ताङमा बसोबास गर्ने लोवा जातीले मनाउने ऐतिहाँसिक र सांस्कृतिक पर्व ‘तिजी’ पर्यटक भित्र्याउने माध्यम बनेको छ ।
पन्ध्रौ शताब्दीमा तत्कालीन मुस्ताङी राजाले रोगब्याधी र विपद् नहोस भन्ने कामना गर्न ३ दिनसम्म तिजी पर्व मनाउन र पुजा गर्न बसाएको चलनलाई त्यहाँका बासिन्दाले जिवन्त राखेर पर्यटन विकास मार्फत लाभ लिएका हुन्् ।
स्थानीयबासीको सांस्कृतिक र ऐतिहाँसिक पर्व तिजी पछिल्लो समय उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउने माध्यमको रुपमा विकास भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।
“ लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका वासिन्दाले हरेक वर्ष मनाउने तिजी पर्व आइतबार देखि शुरु भएको छ । तिजीमा रमाउनविदेशी र स्वदेशी पर्यटकहरु लोमान्थाङ्मा आउनु भएको छ,” उहाँले भन्नुभयो “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम बनेको छ ।”
अर्ध निषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङमा १० दिन भ्रमण गर्न विदेशी पर्यटकले सरकारलाई पाँच सय अमेरिकी डलर शूल्क तिर्नुपर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार यस वर्षको तिजी पर्वको लागि ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुुगेका छन् ।
१५ जना सार्क र ४५७ जना तेस्रो मुलुकका पर्यटक हुुन् । उनिहरुबाट रु. ३ करोड १८ लाख ८८ हजार राजस्व संकलन भएको छ । एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले उपल्लो मुस्ताङमा सबैभन्दा धेरै पर्यटक तिजीको समयमा आउने गरेका बताउनुभयो ।
तिजी पर्व अवलोकनका लागि आएका पर्यटकले लोमान्थाङमा रहेका ३५ वटा होटलहरु भरिभराउ भएका छन् । सडक यातायात, होटल सुविधा र प्रर्वद्धनात्मक गतिबिधिका कारण चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।
काठमाडौका धनप्रसाद लामिछानेले उपल्लो मुस्ताङको पृथक भूगोल, जिवनशैली, ऐतिहाँसिक दरवार, गुफा, गुुम्बा, संस्कृतिले लोभ्याएको अनुुभव सुनाउनुभयो । फान्सका १० जना पर्यटक घुुमाउन लोमान्थाङ पुगेका पथप्रर्दशक विवेक अर्यालले तिजी पर्वकै अवसर पारेर विदेशी पर्यटकहरु उपल्लो मुस्ताङ आउने गरेका बताउनुभयो ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका वासिन्दाले हरेक वर्षको जेष्ठ कृष्ण द्धादशी तिथी देखि ३ दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सवैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष ढुढुके विष्टले बताउनुभयो ।
“लोमान्थाङ दरबारमा वौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्विर अंकित ठुलो आकारको थाङ्का प्रर्दशनी र धार्मिक बिधी अनुसार पुजाआजा गरेर तिजी पर्व मनाउन शुरु हुन्छ,” उहाँले भन्नुभयो “दुई तले घर बराबरको उचाई भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पुजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।”
लोमान्थाङ दरवार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरुको हितका लागि ३ दिनसम्म पुजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रर्दशन गरेर तिजी पर्व मनाउने गरिएको बताउनुभयो ।
“प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकाल जस्ता अनिष्ट नहोस भन्ने कामना गरेर पुजाआजा गर्दछौ,” उहाँले भन्नुभयो “पहिलो दिन जमिनका देवी देवता, दोस्रो दिन समाजलाई दुख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाहरुले नृत्य मार्फत देखाउने गर्छन् ।”
तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । माटोको पर्खाल भित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजिवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बिचमा रमथर भूगोलमा रहेको लोमान्थाङका १३ औ पुस्ताका राजाले पन्ध्रौ शताब्दीमा तिजी पर्व मनाउन शुरुवात गरेका थिए ।
यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखीया प्रथालाई मान्यता दिदै आएका छन् । मुस्ताङका सांस्कृतिक युवराज धिण्डुप झिग्मे पलवर विष्ट र उहाँकी श्रीमतिको उपस्थितिमा तिजी पर्व र पुुजाआजा सञ्चालन गरिएको छ । राजाका लामा बसेका बाहेकका सन्तान दिवंगत भएपछि अनिष्ठ नहोस भनेर तिजी पुजा गर्ने परम्परा बसालेका इतिहाँस रहेको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिन्जिन गुरुङले बताउनुभयो ।