बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ ।
विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।
भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर रु. १० लाख भन्दा बढीको क्षति भएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधी र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।
५ वटा कुटानी पिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जनालाई करेन्ट लागेर सामान्य घाइते भएका छन् । १ जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सर्ट हुनुको कारण पहिचान गर्न अध्ययन भैरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताउनुुभयो ।
घार, शिख, घोडेपानी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । घारको मुक्तीमार्ग मावीका प्रअ ठगराज बरुवालले विद्युत प्राधिकरणले समयमै प्रशारण र वितरण लाइन मर्मत नगर्दा क्षति ब्यहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।