गुराँससँग रमाउन, हिमाल र सुर्योदय हेर्न घोडेपानी

Shreekrishna hardware

बेनी ः पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुन्द्रि सतहदेखि २ हजार ८०० मिटर उचाईमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुँइचो लागेको छ ।

“लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठुला होटलहरु भरिभराउ भएका छन,” घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भन्नुभयो “विद्यालय, एसईईको वार्षिक परिक्षा सकेर फुर्सदीला भएका शिक्षक विद्यार्थी देखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायीहरु घोडेपानी आउनु भएको छ ।”

Shreekrishna

२७ वटा होटल रहेको घोडेपानीमा दैनिक १ हजार जना बास बस्न सक्छन् । साना ठुला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताउनुभयो । जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महशुस भएको घोडेपानी घुमेर फर्किएका मंगला गाउँपालिका–५ का करन कडेलले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरूमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयबासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

“वनैभरि राताम्मे फुलेका गुराँसका रंगले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।”

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन् । बेनीबाट ८ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताउनुभयो ।

गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मीता खरेलले अनुभव सुनाउनुभयो । फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित प्याकेज बनाइएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...