सन्तोष गौतम
म्याग्दी÷ नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको दुई दशक बितिसकेको छ । १० असोज २०५९ बाट मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति बन्यो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिंदै आएका थिए ।
असुरक्षित गर्भपतनको जोखिम
नेपालमा सन २०१४ मा गरिएको अध्ययन अनुसार ३ लाख २३ हजार जनाले गर्भपतन गरेकोमा ४२ प्रतिशतले मात्र सरकारले गर्भपतनका लागि कानुनी मान्यता दिइएका स्वास्थ्य संस्थाहरुमा हुने गरेका छन । ५८ प्रतिशत गर्भपतन लुकिछिपी, असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था, व्यक्ति वा गर्भवति महिला आफैले गरेको पाईएको छ । सन २०१४ मा अनुमानित असी हजार महिलाहरुले गर्भपतन र गर्भपात (आफै गर्भ तुहिनु) सम्बन्धी जटिलता भएर स्वास्थ्य संस्थाहरुमा उपचार गरेका थिए । यी मध्य ६ हजार ८०० महिलाहरुमा लुकिछिपी गर्भपतन गराएका कारण समस्या भएको थियो । यो तथ्याङ्कले नेपालमा असुरक्षित गर्भपतनको समस्या रहेको स्पष्ट हुन्छ ।
नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था भएता पनि ५९ प्रतिशत महिलालाई यसबारे थाहा नभएको पाइन्छ । सुरिक्षत तरिकाले गरिने गर्भपतनबाट हुने खतरा सामान्य रूपमा सुत्केरी हुने बेलाको खतरा भन्दा कम हुन्छ । तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट, उपयुक्त औजार र साधनको प्रयोग गरी सफासँग ज्ञान र सीप भएको व्यक्तिबाट गरेको गर्भपतनलाई सुरक्षित मानिएको छ ।
औषधी र सर्जिकल बिधीबाट गर्भपतन
नेपालमा सन् २०१६ देखि मान्यता प्राप्त स्वास्थ्य सस्थावाट अवस्था हेरी निशुल्क गर्भपतन सेवा उपलव्ध हुन थालेको थियो ।
मेडिकल गर्भपतन सेवा अन्तर्गत मान्यता प्राप्त स्वास्थ्य सस्थावाट औषधीको प्रयोग गरी गर्भपतन गर्ने गरिन्छ । सर्जिकल गर्भपतनमा १२ हप्तासम्मको गर्भलाई औजार तथा उपकरणको प्रयोग गरी गर्भपतन गर्ने गरिन्छ । यी दुवै प्रक्रियावाट गर्भपतन गराउनको लागि महिलाको मञ्जुरी अनिवार्य गरिएको हुन्छ । नेपाल सरकारले गर्भपतन सेवालाई विस्तार तथा सुरक्षित बनाउन हरेक वर्षको २६ सेप्टेम्वरका दिन सुरक्षित गर्भपतन दिवस मनाउँदै आएको छ ।
अहिले कानुनी रुपमा स्वास्थ्यकर्मी तथा चिकित्सकले औषधि प्रयोग गरेर गर्भपतन गराउँछन् । यसलाई औषधिजन्य गर्भपतन भनिन्छ । उपर्युक्त औषधिको प्रयोग गरिएमा औषधिजन्य गर्भपतन धेरै प्रभावकारी र सुरक्षित छ । गर्भपतन गराएकी महिलालाई कुनै पनि खतराका लक्षणहरू देखापरेमा तुरुन्त चिकित्सकको सहयोगको आवश्यकता पर्दछ । १२ हप्ता सम्मको गर्भलाई सूचिकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पतन गराउन सक्ने अधिकार कानुनले महिलालाई दिएको छ ।
सम्बन्धित महिला नाबालिक भएको खण्डमा उनको अभिभावकसँगको परामर्शको आवश्यकता पर्दछ । चिकित्सक पुग्न नसकेको ठाउँमा औषधिद्वारा पनि गर्भपतन गर्ने सूविधा सरकारले दिएको छ । केही गरी गर्भमा कुनै जटिलता उत्पन्न हुने अवस्था आएमा १२ साता भन्दा माथिको गर्भ पनि चिकित्सकको परामर्शमा पतन गर्न सक्ने अवस्था छ ।
म्याग्दीमा गर्भपतनको अवस्था
६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीको सदरमुकाम स्थित जिल्ला अस्पताल, दरवाङ आधारभूत अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) र १७ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन केन्द्र स्थापना भएको छ । लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मनस्थित सरकारी स्वास्थ्य संस्थाले १० हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन महिनासम्म ५६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । जस मध्य ८.१ प्रतिशत २० वर्ष मुनीका छन् । गर्भपतन गरापछि १३४ जनाले लामो अवधीको परिवार नियोजनको साधन प्रयोग गरेका छन् ।
आर्थिक वर्ष २०७९÷०८० मा ८२० जनाले सुरक्षित गर्भपतन सेवा लिएकामा ६.२ प्रतिशत २० वर्ष भन्दा कम उमेरका थिए । पाँच जनाले सर्जिकल बिधिबाट गर्भपतन गराएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार १३ जनाले गर्भपतन गराएकोमा २३ जनाले सर्जिकल बिधि अपनाएका थिए । जस मध्य ५ दशमलब २ प्रतिशत २० वर्ष भन्दा कम उमेरका थिए ।
२०७७÷०७८ मा एक हजार १८८ जनाले गर्भपतन गराएकामा ७६ जना २० वर्ष भन्दा कम उमेरका थिए । २९ जनाले सर्जिकल बिधीबाट गर्भपतन गराएका थिए । यो संख्या सुचिकृत स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसुति सेवा लिनेहरुको हो । सूचीकृत नभएका अवैध निजी क्लिनिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । गर्भवती महिलाको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाई फकाई, झुक्याई वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गको आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था छ । यदि यस्तो भएमा दण्ड, सजाय हुने कानुनी व्यवस्था छ ।
गर्भपतन सेवाको चुनौति
सुचिकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट निशूल्क रुपमा सुरक्षित गर्भपतन सेवा पाइने जानकारी ग्रामिण र दुरदराजका महिलाहरुसम्म पुग्न सकेको छैन् । सबै वडा तहका स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध छैन् । गर्भपतन गराउन पाउने अधिकार उपभोग गर्ने निर्णय गर्न अझै पनि महिलाहरु श्रीमान र अभिभावकमा निर्भर हुने गरेका छन् । गर्भपतन गराउन श्रीमान र परिवारका सदस्यहरुको अनुमति लिनुपर्ने पारिवारिक र ब्यवहारिक समस्या छ । गाउँकै स्वास्थ्य संस्था र जिल्लाको अस्पतालमा गर्भपतन गराउदा अरुले थाहा पाउलान भन्ने डरले जिल्ला बाहिर जाने र सूचिकृत नभएका निजी क्लिनिकमा गर्भपतन गराउन समस्या देखिएको छ । समाजमा गर्भपतन गराउनेहरुप्रति हेर्ने दृष्टिकोण र गरिने व्यवहार राम्रो छैन् ।
परिवार नियोजनका साधन प्रयोग नगर्ने, गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा गलत तरिकाले बुझ्ने, गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरकाहरुको संख्या बढ्न थाल्नुले यो सुविधाको दुरुपयोग हुन थालेको त छैन भन्ने प्रश्न पनि उठेको छ ? गर्भपतन रहर नभएर बाध्यताको विकल्प हो भन्ने बुझाउन, सन्देश र शिक्षा फैलाउन ढिलाई गर्नु हुदैन् ।
असुरक्षित गर्भपतनका जटिलता
असुरक्षित गर्भपतनका धेरै जटिल अवस्था छन् । औषधि पसलबाट किनेका विभिन्न औषधिको आफू खुसी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजाने, गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना धेरै रहन्छ । जसले संक्रमण भई क्यान्सर हुने डर समेत रहन्छ । खुला रुपमा औषधि किन्न पाउने भएकोले कतिपयले मेडिकलबाट औषधि किनेर सिधै प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असरहरु पर्ने गरेको पाइन्छ । जसमा अत्यधिक रक्तश्राव, ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने आदि पर्दछन् । धेरै रगत बगेका कारण ज्यानलाई खतरा हुने अवस्था हो । असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।
सेवामा पहुँच बढाउन र सचेतना फैलाउन आवश्यक
मान्यता प्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर पर्दैन । तर, समाजको डर र अनिच्छित गर्भधारण आदिका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । संसारभर एक वर्षमा करिब साढे पाँच करोड गर्भपतन गराइने अनुमान गरिएको छ । अहिले तत्कालको समस्या टार्न सुरक्षित गर्भपतन कहाँ, कसरी गर्न सकिन्छ भन्ने कुराको सचेतना दिनु र खोजी गर्नु पर्दछ ।
खुला र असुरक्षित यौन सम्र्पकबाट धेरैजसो महिलाहरूले गर्भपतन गराइसके पछि पाउनुपर्ने उपचार र राम्रो व्यवहार नपाउने, समाज र परिवारमा लज्जित हुनुपर्ने वा सजायको भागी हुनुपर्ने जस्ता समस्याले लुकेर असुरक्षित गर्भपतन गरेर जोखिम सृजना गरेको पाइन्छ । यस्तो गर्नु उचित होइन, अनिच्छापूर्वक गर्भपतन गराउनुपर्ने स्थिति आएपछि जो सुकैले पनि कानुन बमोजिमको सहज बाटो अपनाउनु पर्दछ ।
किशोर किशोरीलाई विद्यालयमा असुरक्षित गर्भपतनबारे चेतना फैलाउन जरुरी छ । सबै शिक्षकले खुलेर यो बिषय शिक्षण गर्नु पर्दछ । खासगरी यौनका जिज्ञासा र यसका रोगबारे उनीहरुले समयमै थाहा पाउन जरुरी छ । असुरक्षित गर्भपतन हटाउन र सुरक्षित गर्भपतन बढाउन सेवाको दायरा बढाउने दायित्व सरकारको हो । यस्तै असुरक्षित गर्भपतन हुन नदिन कानुनको पूर्ण कार्यान्वयन, सम्बन्धित स्वास्थ्य संस्थाको अनुगमन गर्नु पर्दछ । कारण र आवश्यकताका आधारमा गर्भपतन गराएकी महिलालाई हेला गरेर होइन, परिवार र समाजले सहानुभूति, असल व्यवहार तथा सहयोग गर्न आवश्यक छ ।
सन्दर्भ स्रोत सामग्री ः स्वास्थ्य कार्यालय म्याग्दीको प्रतिवेदन
‘नेपालमा सुरक्षित गर्भपतनसम्बन्धी छुट्टै कानूनको आवश्यकता’ सम्बन्धी प्रतिवेदन
भिजिवल इमप्याक्टको गर्भपतन सम्बन्धि रिपोर्टिङ्ग कसरी गर्ने मिडिया र आम संचारकर्मीका लागि टुलकिट पुस्तिका