म्याग्दी क्याम्पसमा मिर्गौला सचेतना

Gandaki Kotihome

बेनी,। विश्व मिर्गौला दिवस–२०२४ को अवसरमा बिहीबार बेनीमा मिर्गौला स्वास्थ्य सम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मिर्गौलालाई स्वस्थ र सुरक्षित राख्ने उद्देश्यसहित मिर्गौलाको बारेमा सचेतना र परीक्षण गरी दिवस मनाइएको हो ।

‘सामाजिक न्याय र पेसागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजना, म्याग्दी बहमुखी क्याम्पसको समन्वय र मिलन म्याग्दीको सहकार्यमा विश्व मिर्गौला दिवसको अवसर पारेर क्याम्पसमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

मिर्गौला परीक्षण कार्यक्रमको विश्वास ल्याब, म्याग्दीको आर्थिक तथा प्राविधिक र दीगो क्लिनीक पर्वत बेनीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजित कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारी र सहभागीसहित कुल २ सय २१ जनाले मिर्गौलाको स्वास्थ्य परीक्षण गरेका छन् । उक्त कार्यक्रममा प्रेसर तथा सुगर परीक्षण, तौल र उचाइको नापजाँच एवं पिसाबको परीक्षण गरी मिर्गौला सचेतनाको विषयमा जानकारी समेत गराइएको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

कार्यक्रममा बेनी अस्पताल म्याग्दीका जनरल फिजिसियन डाक्टर नितेश श्रेष्ठले मिर्गौलालाई स्वस्थ राख्ने सम्बन्धी विषयमा ध्यान दिनुपर्ने विभिन्न जानकारीसहित आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले विश्व मिर्गौला दिवसमा आयोजित कार्यक्रमले मिर्गौला स्वस्थ राख्ने विषयमा जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै स्वास्थ्य र सचेतनाका कार्यक्रमहरुमा म्याग्दी क्याम्पसले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल म्याग्दीका अध्यक्ष सुमित्रा थजालीको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागत गर्नुभएको कार्यक्रमको उपाध्यक्ष तिलकुमारी रानाले सञ्चालन गर्नुभएको थियो । यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले दरबाङमा नसर्ने रोगको स्क्रिनिङ शिविर, स्वास्थ्य सचेतना, सरसफाइलगायत विभिन्न कार्यक्रमहरु गरेका थियो । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नारासहित आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको बेला रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । डाक्टरहरुका अनुसार अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ । ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल जाने गर्दछन् । मिर्गौला रोगबाट बच्न शरीरमा प्रशस्त मात्रामा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न डाक्टरले सुझाव दिँदै आएका छन् ।

दिनमा दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउन, १० हजार पाइला हिँड्न, रातमा सात–आठ घण्टा मज्जाले सुत्न, चुरोट, खैनी, जाँडरक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहन तथा मोटोपन र उच्च रक्तचाप भए घटाउन डाक्टरहरुको सल्लाह छ । स्वस्थ खानपान तथा समयमा खाने र पेनकिलरलगायत जथाभावी औषधीको प्रयोग रोकेमा मिर्गौलामा लाग्ने रोगबाट बच्न सकिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...