बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि वारीबेनीमा क्षमता विकास तालिम शुरु भएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा सबै जनप्रतिनिधि, वडा सचिव र पालिकाको विषयगत शाखाका प्रमुखहरुका लागि तीन दिने तालिम शनिबारदेखि शुरु भएको हो । स्थानीय सरकार सञ्चालन सँग सम्बन्धीत नीतिगत व्यवस्था, सिद्दान्त र व्यवहारिक अभ्यासको विषयमा जानकारी गराउने, बुझाइमा एकरुपता कायम गर्ने र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा ८५ जनाको सहभागिता रहेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, स्रोत व्यक्ति विश्वरमण न्यौपाने, व्यवस्थापक अधिकृत योगमाया सापकोटा लगायतले २५ वटा विषयमा तालिम दिनुहुने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक र उपप्रमुख सोमबहादुर जिसीले नागरिकमा आशाको सञ्चार गराउन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सकारात्मक र जनमैत्री हिसाबले काम गर्न अनुरोध गर्नुभयो ।
नीतिगत विषयमा जनप्रतिनिधी र कर्मचारीको बुझाइमा एकरुपता कायम गर्दै सेवा प्रवाहमा देखिएका व्यवहारिक समस्यालाई सरलीकृत बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
सेवा प्रवाह, योजना छनौट र कार्यान्वयनमा देखिएका समस्यालाई विज्ञको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरु सँगै छलफल गर्ने थलोका रुपमा तालिमलाई लिइएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास, कार्यशैली परिवर्तन गरि सेवा प्रवाहमा सुधार ल्याउन र वर्तमान शाषन व्यवस्थाप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस जलजलाका सभापति इन्दुप्रकाश पौडेल र नेकपा (माओवादी केन्द्र्र) जलजलाका ईञ्चार्ज लोकराज आचार्य (सौगात)ले जनप्रतिनिधिहरुले कुण्ठामुक्त र इमान्दार बनेर इमान्दारीताका साथ नागरिकको सेवामा परिचालन हुन आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक विकास अधिकृत समेत रहनुभएका सूचना अधिकारी भेषनाथ आचार्यले गर्नुभएको थियो ।