बेनी, म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।
ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन् । पाहार ट्रष्ट नेपाल, मालिका गाउँपालिका र समुदायको लागत साझेदारीमा दुई तले आठ कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माण भएको हो ।
नवनिर्मित भवनको मङगलवार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र पाहार ट्रष्टका अध्यक्ष हवार्ड ग्रीनले संयुक्त रुपमा उद्घाटन गरेका विद्यालयका प्रअ अमृत बुढाथोकीले जानकारी दिए ।
‘सुविधासम्पन्न नयाँ भवन निर्माण भएपछि साघुरो, जिर्ण भवन र खुल्ला चौरमा पठनपाठन गराउनुपर्ने समस्या हटेको छ,’ उनले भने ‘व्यवस्थित पूर्वाधारले बालबालिकाको सिकाई उपलब्धी बढ्ने र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरेका छौ ।’
वि.स. २०७९ फागुन महिनादेखि भवन निर्माण शुरु भएको थियो । भवन निर्माणमा पाहार ट्रष्टको त्रिपन्न लाख दश हजार ४५८, गाउँपालिकाको बयालीस लाख अरचालिस हजार ३६७ आर्थिक सहयोग र स्थानीयबासीको दश लाख बैसठ्ठी हजार एकानन्बे रुपैयाँ बराबरको श्रमदान रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमति बुढाले बताइन् ।
कक्षा दशसम्म पढाइ हुने विद्यालयमा २५० जना विद्यार्थी छन् । पाहार ट्रष्टको सहयोगमा यसअघि सो विद्यालयमा दुई कोठे पुस्तकालय भवन निर्माण भइसकेको छ । यसअघि तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा चार कोठे भवन निर्माण भएको विद्यालयमा थप दुई कोठे भवन आवश्यक रहेको प्रअ बुढाथोकीले बताए ।
नेपालका २७ जिल्लाको दुर्गम बस्तिहरुमा हालसम्म तीन सय भन्दा बढी विद्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण गरेको पाहार ट्रष्टले नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङले बताए ।
मालिका–५ देविस्थानका बेलायती गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन जितबहादुर घर्तिको समन्वयमा यसअघि मालिकाको पन्थोक स्थित भिम मावि र वडा नम्बर ६ दरवाङको जनप्रिय माविमा पनि आठ÷आठ कोठे भवन निर्माण भएको थियो ।
अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा पनि सुविधा सम्पन्न भवन निर्माण गरेको पाहार ट्रष्टको सहयोगमा मंगला गाउँपालिका–२ हिदीको सिद्धशान्ति माविको भवन निर्माणाधिन छ ।
फोटो पनि साथमा छ ।