बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुले असल अभ्यास गरेका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेका छन् ।
तीन वटा टोलीले आइतबार र सोमबार ६ वटा स्थानीय तहले विभिन्न विषयमा गरेका असल अभ्यासनको अनुगमन गरेका हुन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको टोलीले स्याङ्जाको वालिङ नगरपालिकाले गरेको सूचना प्रविधि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापनका लागि गरेको अभ्यासको अनलोकन गरेका छन् ।
यसैगरी फेदीखोला गाउँपालिकाको भेटेरेनरी र आर्थिक समितिको असल अभ्यासको बारेमा जानकारी लिएको छ । गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को टोलीले बाग्लुङको ताराखोला गाउँपालिकाले शुरु गरेको श्रम बैङ्क र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको न्यायिक समितिको कार्यसम्पादनका लागि गरेको असल अभ्यासको बारेमा जानकारी लिएको छ ।
कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ५ लेकफाँटका वडा अध्यक्ष तिलक जिसीको टोलीले मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गरेको अभ्यासको बारेमा जानकारी लिएको छ । गाउँपाकिलाको वार्षिक कार्यक्रम अनुसार टोली असल अभ्यासको बारेमा अध्ययनका लागि अध्ययन भ्रमणमा गएको हो ।
स्थलगत निरिक्षण, जनप्रतिनिधि र कर्मचारी तथा लाभग्राहीहरुसँग अन्तरक्रिया तथा छलफल समेत गरेको टोलीले कार्यपालिकाको मंगलबार हुने बैठकमा प्रतिवेदन पेश गदैैछन् । अन्य पालिकाले गरेका असल अभ्यास जलजलामा पनि अपनाउनका लागि प्रतिवेदनको आधारमा छलफल गरि निर्णय लिइने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।