बेनी । म्याग्दीको सदरमुकाम बेनीमा माघ ११ गते साँझ धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न मध्य हालसम्म ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने २२ वर्षीय सुशिल गर्बुजाको हत्या भएको थियो ।
धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, शंकर घर्ति, रघुगंगा गाउँपालिका–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाँउपालिका–२ का २३ वर्षीय जिवन जि.सी.लाई भोलीपल्टनै पक्राउ गरेर सार्वजनिक गरिएको थियो ।
त्यसपछि थप सात जना लाई नियन्त्रणमा लिएर अनुसन्धानलाई तिब्रता दिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । ‘‘घटनामा संलग्न भएका अन्य व्यक्तिहरुको पनि खोजी गरिरहेका छौं,” उहाँले भन्नुभयो “जनमानसमा केही नगरेको जस्तो भ्रम फैलाइए पनि प्रहरीले घटनाको गहिरो तवरले छानविन र अनुशन्धान गरिरहेको छ ।’’
पक्राउ परेका मध्य २ जना १५ र १७ बर्षका छन् । घटनास्थल आसपासका सिसीटिभी फुटेज सहित प्रत्यक्षदर्शी, विगतका दुस्मनीका साथै घटनामा संलग्न अन्य युवाहरूको समेत खोजीकार्य भइरहेको प्रनाउ कुँबरले बताउनुभयो ।
छातिमा चक्कु प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको छातीमा चोट लागेको थियो ।
घटनामा मृतकका परिवारले दिएको किटानी जायरीमा उल्लेख गरिएका मुख्य आरोपीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिइसकेको छ । आरोपीलाई जिल्ला अदालतबाट म्याद थप गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।