बेनी । नेपालका चार जना पंक्षी तथा वन्यजन्तुको अनुसन्धान र संरक्षणकर्मीहरुलाई शनिबार नगद रु. २५ हजारका दरले पुरस्कृत गरिएको छ ।
म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा भएको ११ औ लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा उनिहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा, क्षेत्रपाटी काठमाण्डौका राजेन्द्र सुवाल, भजनी कैलालीका हिरुलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर, बाँकेका याम बहादुर रावत रहनुभएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो समय देखि चरा, सिमसार तथा वन्यजन्तुसंरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क, कैलालीलाई पनि सम्मान गरिएको छ । स्थानीय स्तरमा प्रकृति र पर्यापर्यटनमा योगदान गरेका कुश्माका आर के अदिप्त गिरी र समिर रेग्मी लाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
उहाँहरुले पर्यावरण, जैविक विविधता, पंक्षी र वन्यजन्तु संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको हो । ग्रामिण क्षेत्रमा लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले शुक्रबारदेखि शुरु भएको उत्सव शनिबार समापन गरिएको छ ।
अवैध व्यापार र चोरी शिकारका कारण संकटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव भएको छ । लाटोकोसेरो लगायत पंक्षी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने कार्यक्रम उत्सवमा गरिएको थियो ।
ठूला र बूढा रुखहरु कटानी हुँदा लाटोकोसेरोलाई बासस्थानको अभाव भएको छ । आधुनिक घरहरु बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीहरुमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ ।
सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायतिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षण विद् डा. हुम गुरुङले बताउनुभयो । “नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्,” उहाँले भन्नुभयो “तीमध्ये ९ प्रजाति राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।”
लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । गोठे लाटोकोसेरोको एउटा परिवाले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने अध्ययनहरुले देखाएको निर्देशक आचार्यले बताउनुभयो ।
यसको साथै अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, छेपारो लगायतका जीबलाई आहाराको रुपमा खाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायहरुलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो उत्सव हुँदै आएको छ । हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङजा, कैलालीमा संरक्षण उत्सव भइसकेको छ ।
लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ । यस योजनाले लाटोकासेरो संरक्षण र चोरीसिकार नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।
उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र समुदायलाई संरक्षणमा अग्रसर बनाउन मद्दत पुगेको स्थानीय युवा पुर्ख पुर्जा पुनले बताउनुभयो । महंगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो छोप्ने, मार्ने, बेच्ने गर्दा संख्या घटेको छ ।
उत्सवले लाटोकोसेरा लगायत पंक्षी संरक्षणको सन्देश प्रवाहका साथै फलामेडाडा र जलजलाको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको छ । चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिएको थियो ।
स्थानीय विद्यालयहरुको नाच, पन्चे बाजा, पुरख्यौली नाच, थिएटर नाँच, यानी माया, सालैजो, लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको थियो ।
वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच तथा नाटक गाँउपालीका स्तरिय स्थानीय विद्यालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
लाटोकोसेरोको अस्थाई सङग्रहालय निर्माण गरि प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरु राखिएको थियो । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिएको छ ।
आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको थियो । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्र बनाएका थिए् । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरु पनि प्रदर्शनीमा राखिएको थियो । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुत गरेका जलजला गाउँपालिका–५ का वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो । वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु राखिएको थियो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य उत्सवको रहेको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र आयोजना हुने गरेको छ ।