लोप्रे, पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार देखि ११ औ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु भएको छ ।
प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा शुरु भएको उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गरे ।
प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले ग्रामिण क्षेत्रमा लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरेको बताए ।
‘अवैध व्यापार र चोरी शिकारका कारण संकटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरेका छौ,’ उनले भने ‘लाटोकोसेरो लगायत पंक्षी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वद्धनमा पनि जोड दिएका छौ ।’
ठूला र बूढा रुखहरु कटानी हुँदा लाटोकोसेरोलाई बासस्थानको अभाव भएको छ । आधुनिक घरहरु बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीहरुमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ ।
सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायतिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षण विद् डा. हुम गुरुङले बताए । ‘नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्,’ उनले भने ‘तीमध्ये ९ प्रजाति राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।’
लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । गोठे लाटोकोसेरोको एउटा परिवाले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने अध्ययनहरुले देखाएको निर्देशक आचार्यले बताए ।
यसको साथै अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, छेपारो लगायतका जीबलाई आहाराको रुपमा खाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायहरुलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो उत्सव हुँदै आएको छ । हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङजा, कैलालीमा संरक्षण उत्सव भइसकेको छ ।
लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ । यस योजनाले लाटोकासेरो संरक्षण र चोरीसिकार नियन्त्रणमा लाग्ने बताइएको छ ।
उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र समुदायलाई संरक्षणमा अग्रसर बनाउन मद्दत पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । महंगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो छोप्ने, मार्ने, बेच्ने गर्दा संख्या घटेको छ ।
उत्सवले लाटोकोसेरा लगायत पंक्षी संरक्षणको सन्देश प्रवाहका साथै फलामेडाडा र जलजलाको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए ।
चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नृत्यको प्रर्दशनी गरिएको छ । स्थानीय विद्यालयहरुको नाच, पन्चे बाजा, पुरख्यौली नाच, थिएटर नाँच, यानी माया, सालैजो, लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको मुल आयोजक समितिको प्रचारप्रसार संयोजक पुर्ख पुर्जा पुनले बताए ।
वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच तथा नाटक गाँउपालीका स्तरिय स्थानीय विद्यालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको छ ।
लाटोकोसेरोको अस्थाई सङग्रहालय निर्माण गरि प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरु राखिएको मुल संयोजक यामकुमारी गुरुङले बताइन् । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिएको छ ।
आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्र बनाएका छन् । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरु पनि प्रदर्शनीमा राखिएको छ । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष तिलक जिसीले बताए ।
वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु छन् । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीहरुलाई जनही २५ हजार रुपैयाँ नगद सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ ।
स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य उत्सवको रहेको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र आयोजना हुने गरेको छ ।