गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

पोखरा, गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली-२०८० मा मापदण्ड बनाएर राइड सेयरिङ दर्ता गर्ने व्यवस्था गरिएको हो । 

नियमावलीको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पांग्रे तथा दुई पांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । सो व्यवस्थाअनुसार निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न सक्ने गरी मापदण्ड बनाउन गृहकार्य थालिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए ।

Shreekrishna

‘नियमावलीले राइड सेयरिङलाई नियमन गर्न र वैधानिक बनाउन कानुनी बाटो खोलेकाले मापदण्ड तयार पार्न लागिएको हो,’ उनले भने, ‘मापदण्डको आधारमा दुई पांग्रे र निजी सवारी साधन प्रक्रिया पुर्‍याएर राइड सेयरिङमा दर्ता हुन पाउनेछन् ।’ 

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता भएर अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने राइड सेयरिङ यात्रुमाझ लोकप्रिय बन्दै गए पनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव छ । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । यी एपको नियमनका लागि यसअघि बागमती प्रदेश सरकारले कार्यविधि बनाएको थियो । 

गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभ नामक राइड सेयरिङ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । कानुन अभावमा राइड सेयरिङ गर्नेले पोखराका ट्याक्सी चालक तथा व्यवसायीले आक्रमण र अवरोध गरेको गुनासो गरेका छन् । राइड सेयरिङ सेवाका लागि दुई पांग्रे सवारी साधन दर्ता गर्न २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष १२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चार पांग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क ५० हजार र नवीकरण शुल्क २५ हजार रुपैयाँ आर्थिक विधेयकमा उल्लेख छ । 

दुई पांग्रे र चार पांग्रेको दर्ता, अनुमति लिन ७० हजार र वार्षिक नवीकरण गर्न ३५ हजार रुपैयाँ तोकिएको छ । गण्डकी प्रदेशको चालु आर्थिक वर्षको आर्थिक विधेयकमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी अब प्रदेशमा पनि अनिवार्य दर्ता हुनुपर्ने उल्लेख गरिएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयअनुकूल व्यवस्थित बनाउनका लागि नियमावली तयार पारिएको बताए ।

‘सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्य गर्न नियमावलीमा राइड सेयरिङलाई वैधानिकता दिँदा रोजगारी सिर्जना पनि हुने सम्भावना छ,’ उनले भने, ‘मिटरमा नचल्ने ट्याक्सीलाई तत्काल कारबाही गर्ने नीति ल्याउँदा पनि नियमन गर्न नसकिएपछि राइड सेयरिङलाई दर्ता गरेर सञ्चालन हुन दिने अवस्था आएको हो ।’
नियमावली यातायात क्षेत्र सुधारका लागि कोसेढुङ्गा सावित हुने मन्त्री जुग्जालीले बताए । ‘राजस्वको स्रोत बढाउन र सार्वजनिक यातायातमा चुनौती बनेका ट्याक्सीलाई नियमन गर्न पनि नियमावली सहयोगी बन्नेछ,’मन्त्री जुग्जालीले भने, ‘ठूलो जनशक्ति र समय ट्याक्सीलाई मिटरमा चलाउन लगाउनुभन्दा राइड सेयरिङलाई विकल्पका रुपमा वैधानिकता दिन लागिएको हो ।’

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...