बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको निलगिरीखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजना निर्माण भएको छ ।
निलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्य सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रर्वद्धक कम्पनी निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार सार्वजनिक सूचना जारी गरेर भौतिक संरचना शुुरु गर्न लागिएको जनाएको छ । आयोजनाका आधिकारिक प्रतिनिधि उपेन्द्रराज गौतमले माघ १५ गतेदेखि १० गतेसम्म आयोजनाको टनेलमा पानी हालेर परिक्षण गरिने जानकारी गराउनु भयो ।
“निर्माण भएको भौतिक संरचनाहरुको परिक्षणका क्रममा टनेलमा पानी पठाउन लागिएको हो,” उहाँले भन्नुभयो “टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र आवत जावत गर्ने कार्य नगराउन अनुुरोध गरेका छौ ।”
बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहबरमा परिक्षणको तयारी भएको हो । छोटेपामा निर्माण भएको डिसेण्डर (बालुवा थिग्राउने पोखरी)मा यसअघिनै पानी हालेर परिक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृह सम्म ४ हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।
विद्युतगृह र छोटेपाको बाँध सहित ५ वटा अडितबाट वि.स. २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । ३८.७ मेगावाटको निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी एउटै हो ।
निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । २ हजार मिटर लामो सुरुङलाई पलास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ ।
निलिगिरी पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ । निलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिरोले क्षति पु¥याएको थियो ।
बस्ती देखि टाढा रहेको निलगिरीखोला जलबिद्युत आयोजना निर्माण स्थल भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्छ । रु. तेह् अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।
निलिगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सवस्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिन्छ । छोटेपा–दोबिल्ना हुदै दाना सव स्टेशन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भएको छ ।
नारच्याङमा यसअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले बताउनुभयो ।
९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अहिले वातावरणीय अध्ययन भइरहेको छ ।