पोखरा, । भिरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७ धाइरीङका साजन परियारले सञ्चालन गर्नुभएको अभियानबाट संकलित रु. ८२ हजार ६५० रसिलाको उपचारका लागि हस्तान्तरण गरिएको हो ।
अभियन्ता साजन परियारले गण्डकी अस्पताल पोखरामा पुगेर रसिलालाई नगद हस्तान्तरण गर्नुभएको हो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी रसिला घाँस काट्ने क्रममा भिरबाट लडेर ढाड भाँचिएर थला पर्नुभएको हो ।
रसिलाका श्रीमान पनि बिरामी हुनुहुन्छ । उहाँको भारतमा उपचार भइरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण रसिलाको उपचारमा समस्या भएको छ । गण्डकी अस्पतालमा रसिलाको शल्यक्रिया गर्ने तयारी भएको छ । थप सहयोगका लागि अपिल गरिएको छ ।