सुरेन गुरुङ
पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शिविर मार्फत अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहिबार वडा नम्बर १ देखि ६ सम्मका अपाङ्गहरुका लागि परिचयपत्र वितरण गर्न शिविर आयोजना भएको थियो ।
माघ ५ गते वडा नम्बर ७ हिस्तान र ६ गते वडा नम्बर ८ राम्चेमा शिविर हुने गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रसम्म आउन नसक्ने अपाङ्गहरुको सुविधाका लागि जनप्रतिनिधी, चिकित्सक र कर्मचारीको टोली गाउँ टोलमा पुग्न थालेको हो ।
पोखरबेगरमा ५ जनालाई (क) बर्गको, ९ जनालाई (ख) बर्गको र ६ जनालाई (ग) वर्गको परिचयपत्र वितरण गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । थप चार जनालाई परिचयपत्र तयार भएको र वितरण गर्न बाँकी छ ।
बेनी अस्पतालका डा. रोशन आचार्य, डाक्टर करुणा कार्की, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरि अपाङ्गता वर्गीकरण गर्न सिफारिस गर्नुभएको थियो ।