बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको शनिबार बेनीमा सम्पन्न भएको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट दामोदर शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा राजुप्रसाद सुवेदी, सचिवमा देवीप्रसाद शर्मा (डि.पी.), कोषाध्यक्षमा इन्द्रप्रसाद सुवेदी, सहसचिव रमेशप्रसाद चापागाई चयन हुनुभएको छ ।
सदस्यहरुमा दण्डपाणी शर्मा, उमानाथ शर्मा, सागर तिमिल्सीना, रमेश खत्री, दिनेश शर्मा र निलकण्ठ पराजुली चयन हुनुभएको छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले व्यवसायीहरुले कर सम्बन्धी नीति नियमको पालना र मर्यादित पेशा व्यवसायी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वस्तुगत संघहरुका तर्फबाट मुद्रण संघ म्याग्दीका अध्यक्ष सन्दिप खत्री, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष नारायण शर्मा र सिलाई व्यवसायी संघका अध्यक्ष गोपाल परियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समितिका अध्यक्ष तुलसीनाथ सुवेदीको अध्यक्षता, उपाध्यक्ष दामोदर शर्माको स्वागत मन्तब्य र सचिव राजुप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुवर्ण रिजालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष सुवेदीको गतिबिधि समेटिएको प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भएको छ । अध्यक्ष सुवेदीले आफ्नो कार्यकालका सबै सदस्यहरुलाई मायाको चिनो प्रदान गरि धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यसमितिका अन्य पदाधीकारी र सदस्यहरुले पनि अध्यक्षलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका सचिव सन्तोष गौतमलाई सम्मान गर्ने घोषणा गरिएको थियो ।
वि.स. २०७४ साउन २७ गते मा स्थापना भएको समितिले कपडा तथा फेन्सी व्यवसायीहरुको पक्षमा पैरवीका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । काठमाडौ देखि बेनी चल्ने गाडीमा फेन्सी व्यवसायीलाई छुटको सुविधा, घुमुवा व्यवसायलाई नियमन गर्न बेनी नगरपालिकासँग समन्वय गरेको छ । समितिमा हाल १६५ जना कपडा तथा फेन्सी व्यवसायीहरु आवद्ध छन् । समितिको मुद्दती खातामा रु. तीन लाख बचत रहेको छ ।
२०७९ मा सञ्चालित सातौ म्याग्दी महोत्सवको रत्तेउली प्रतियोगितामा प्रथम पुरस्कारका लागि रु. पन्ध्र हजार प्रयोजन, बेनी नगरपालिका ६ का आगोलागी पिडित रामचन्द्र खत्रीलाई रु. तीस हजार बराबरको जिन्सी र रु. एक हजार नगद, मंगला १ थाइवाङका आगोलागी पिडित बनिकला दमाईलाई रु. २५ हजार बराबरको जिन्सी र रु. एक हजार नगद सहयोग गरेको थियो ।