बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशै जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ ।
जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी शुरु गरेको छ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४३१ जना प्रतिनिधि रहने जानकारी दिनुभयो ।
“म्याग्दीमा एमालेका तीन हजार चार सय पार्टी सदस्य छन्,” उहाँले भन्नुभयो “अन्य समुदायबाट २०, महिला १५ र दलित १० जना बराबर एक जना प्रतिनिधि छनौट हुने बिधान छ ।”
माघ ५ गतेभित्र प्रतिनिधि छनौट गरेर सिफारिस गर्न वडा कमिटिलाई परिपत्र गरेको अध्यक्ष केसीले बताउनुभयो । ४५ वटा वडागत रुपमा २४० जना प्रतिनिधि आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।
अधिवेशनका लागि नारा र लोगो शुक्रबार बेनीको हाडेभिरमा रहेको एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौंै” भनने नारा बनाइएको छ ।
विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी गरेको एमाले म्याग्दीले जनाएको छ । अधिवेशनका प्रमुख अतिथिको टुंगो केन्द्रिय कमिटिको सचिवालले लगाउने एमालेका केन्द्रिय सदस्य भूपेन्द्र थापाले बताउनुभयो ।