म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण गरेपछि विदेश अध्ययन गर्न जाने चलनले गर्दा क्याम्पसमा संकाय, विषय र पूर्वाधार थपिएपनि विद्यार्थी घट्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी संख्या र आयस्रोत घट्दा क्याम्पसलाई घाटा हुन थालेको सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

समुदाय स्तरबाट सञ्चालित क्याम्पसले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद, सांस्कृतिक र शैक्षिक प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरेको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीले स्नातक तर्फ ८५८ र दश जोड दुईका २११ गरी एक हजार १२० जना विद्यार्थी रहेका बताउनुभयो । कक्षा ११ र १२ को उतिर्णदर ७१.२ प्रतिशत र स्नातक तहको उतिर्ण दर २८.१३ प्रतिशत रहेको छ ।

Shreekrishna

विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसले शैक्षिक जनशक्ति उत्पादन गर्न, भएका जनशक्तिको शैक्षिक योग्यता बढाउन र ति बिषय अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बिद्यार्थीको बाध्यता हटाउन स्नाकोत्तर तहमा विभिन्न विषयको पठनपाठन शुरु गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कक्षा ११ देखि शिक्षा, मानबिकी र ब्यवस्थापन संकायको पठनपाठन हुने म्याग्दी क्याम्पसले चार बर्षअघि क्युएए प्रमाणपत्र पाएको थियो । वार्षिकोत्सव तथा क्याम्पस सभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान र भूमिका रहेको म्याग्दी क्याम्पसलाई समय अनुकुल सञ्चालन गर्ने योजना बनाउन सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।

“विद्यार्थीहरुलाई सहज र सर्भसुलभ रुपमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने कार्यक्रम बनाउनुहोस,” उहाँले भन्नुभयो “म्याग्दी क्याम्पसले अघि सारेका हरेक योजनामा जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट खेल्नुपर्ने भूमिका र सहयोगमा कुनै कमी हुन दिदैनौ ।” विद्यार्थीहरुलाई निराश र महत्वाकाक्षा नबन्न आग्रह गर्दै संघर्षबाट सफलता हात पार्न सकिने बताउनुभयो ।

संविधानसभा सदस्य गोविन्द पौडेल र रेशम बहादुर बानियाले क्याम्पसमा विद्यार्थी संख्या घट्नु र घाटा हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै समस्या पहिचान र समाधानको पहल गर्न सञ्चालक समितिलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शिक्षाका लागि विदेशीने चलनले जनशक्तिसँगै पैसा पनि पलायन भएकाले यसलाई गम्भिर रुपमा लिनुपर्ने बताउनुभयो ।

संस्थापक क्याम्पस प्रमुख तथा त्रिभुवन विश्व विद्यालयको अंग्रेजी विभागका प्रमुख कृष्णप्रसाद पौडेलले क्याम्पस स्थापना कालको अवस्थाको स्मरण गर्दै प्रविधिको दुरुपयोगका कारण मौलिकता र सिर्जनशिलता हराएको बताउदै यसप्रति सचेत रहन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस अभिभावक संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीका सचिव देवराज शर्मा, पुर्व विद्यार्थी मञ्चका अर्जुन पौडेल, बिबिएस चौथो वर्षका विद्यार्थी निरुता बुढाथोकीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठको स्वागत र सहायक क्याम्पस प्रमुख नाराणप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...