बेनी, । संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ ।
बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बताउनुभयो ।
“पुष १६ देखि २० गतेसम्म क्षेत्र (ख) र २१ देखि २५ गतेसम्म प्रदेशसभाको क्षेत्र (क)मा अभियान सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “समसामयिक राजनीतिक अवस्था र काँग्रेसको अगुवाईमा भएका राजनीतिक उपलब्धीको बारेमा नेता, कार्यकर्ता र जनतालाई बुझाउदै संगठन विस्तार र सुदृढीकरण गर्न केन्द्रित हुन्छौ ।”
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गर्बुजाले पार्टीका नेतृत्वमा भएका कामको प्रचारप्रसारका साथै जनतालाई व्यवस्था र लोकतन्त्रका विरुद्धका भ्रमबाट मुक्त गराउने अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो ।
सम्मेलनमा सचिव भरतबहादुर रकालले प्रस्तुत गरेका संगठनात्मक र कोषाध्यक्ष अमृतमान शेरचनको आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको छ । पार्टीका नियमित गतिबिधिका साथै विपद् व्यवस्थापन कोष स्थापना गरेर रु. एक करोड बराबरको राहत वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी विकासका लागि जनता जाग कार्यक्रम सञ्चालन गर्ने सचिव रकालको प्रस्ताव सम्मेलनले पारित गरेको छ । निःशूल्क रुपमा योगदान गरि एक वटा वडामा कम्तीमा एक वटा योजना सम्पन्न हुने गरी श्रमदान गर्ने कार्यक्रम बनाउने सचिव रकालले बताउनुभयो ।
सरकारी कार्यालयको सेवा र विकास निर्माणको कामलाई जनउत्तरदायी बनाउन झकझकाउने र काँग्रेसका जनतप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । राजनीतिक गतिबिधिलाई जनताको सेवा र विकाससँग जोड्नका लागि विशेष योजना तय गर्न तल्लो कमिटिलाई निर्देशन दिएको ।
सम्मेलनले जिल्लामा काँग्रेसका सबै तहमा कार्यसमिति पूर्णता र विस्तार सहित पुर्नगठन गर्ने, सवै तहका समितिहरुलाई क्रियाशिल बनाउने, भातृ र शुभेच्छुक संगठनका समितिलाई परिचालन गर्ने, कार्यकर्तालाई प्रशिक्षण दिने, सरकारी कार्यालयमा सहजिकरण गर्न पार्टी कार्यालयमा सहायता कक्ष बनाउने, पार्टी प्रवेश अभियान चलाउने योजना पारित गरेको छ । सम्मेलनमा ४५ वटै वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समिति, जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायत सात सय जना भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।