बेनी, । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार म्याग्दीमा सञ्चालित नदी नियन्त्रण आयोजनाको निरिक्षण गर्नुभएको छ ।
मन्त्रालय अन्तरगतको रुपाताल एकिकृत विकास परियोजना मार्फत बेनी र आसपासको क्षेत्रमा म्याग्दी तथा कालीगण्डकी नदी नियन्त्रणका लागि सञ्चालित आयोजनाको निरिक्षण गर्नुभएको हो ।
बेनी बजार, गलेश्वर, बगरफाँट, वारीबेनी, राममन्दिर, मंगलाघाट क्षेत्रमा निर्माणाधिन नदी नियन्त्रण आयोजनाको निरिक्षणका साथै स्थानीय सरोकारवालाहरुसँग जानकारी लिनुभएको हो । परियोजनाले जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम मार्फत म्याग्दी र कालीगण्डकीको तटीय क्षेत्रमा संरक्षणको काम गर्दै आएको छ ।
निरिक्षणपछि मन्त्री बस्नेतले कामलाई गति दिन र थप बजेट व्यवस्थापन गरेर जोखिमयुक्त बस्तीको संरक्षणमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, संविधान सभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद भण्डारीले बेनी र आसपासका क्षेत्रमा सञ्चालित योजनाका लागि थप बजेट व्यवस्थापनका साथै सिंगा तातोपानीमा पनि बस्ती संरक्षणको योजनाका लागि बजेट व्यवस्थापन गर्न प्रस्ताव गर्नुभएको थियो ।
मन्त्री बस्नेतले तातोपानी बस्ती संरक्षण र रघुगंगा गाउँपालिकाको रिसिनचौतारी लिफ्ट सिचाई योजनाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको सांसद भण्डारीले बताउनुभयो । समाजवादी मोर्चाले बेनीमा आयोजना गरेको सन्देशसभामा भाग लिन आउनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेतले रघुगंगा गाउँपाकिलामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पनि निरिक्षण गर्नुभएको थियो ।