बेनी फिर्ता भयो भिडन्तको साक्षी बनेको बिजुलीको फोल

khali

बेनी, वि.स. २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको बेनी भिडन्तका क्रममा गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता भएको छ ।

मदन पुरस्कार संस्थाले वि.स. २०६५ मा ललितपुरको पाटनढोकामा रहेको यलमाया केन्द्रमा लगेर राखेको पुल बिहिबार बेनी नगरपालिकालाई फिर्ता पठाएको हो । बेनी भिडन्तको साक्षी बनेको बिजुलीको पोल बेनीमै फिर्ता ल्याएर संरक्षण गरेर राख्नुपर्ने म्याग्दीबासीले दवाव दिएका थिए ।

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका–७ मा निर्माण हुन लागेको शान्ति बाटिकामा राख्नका लागि पोल फिर्ता पठाएको जानकारी दिनुभयो । पोल लिनका लागि बेनी नगरपालिकाले नगर प्रहरी प्रमुख शंकर पौडेललाई ललितपुर पठाएको थियो ।
गाडीमा ढुवानी गरेर शुक्रबार बिहान काठमाडौबाट बेनीमा पोल ल्याइने नगर प्रहरी प्रमुख पौडेलले बताउनुभयो । म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दै आएका थिए ।

Shreekrishna hardwear in news
khali

बेनी आक्रमणमा धेरै भौतिक र मानवीय क्षति भएको बेनी नगरपालिका– ७ मा शान्ति पार्क बनाउने तयारी छ । बेनी नगरपालिकाले पार्क बनाएर पोललाई संरक्षण गर्ने र पर्यटकीय गन्तब्य बनाउने तयारी गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

नगर प्रमुख केसीले निर्वाचित भएपछि पोल बेनीमा फिर्ता ल्याउने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । नगरपालिकाले बेनी आउने पाहुनाको बसाई लम्बाउन, बजारबासीलाई खुल्ला प्राकृतिक ठाउँमा रमाउने वातावरण बनाउन र बेनीको सौन्दर्यकरणका लागि शान्ति बाटिका बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ ।

“बेनीको पहिचान र आकर्षण बढाउन मात्र नभएर बजारबासीलाई फ्रेस हुने ठाउँका लागि पनि पार्क बनाउन आवश्यक महशुस गरेर डिपिआर तयार गरेका छौ,” नगरप्रमुख केसीले भन्नुभयो “लगानीको स्रोतको खोजीमा छौ । प्रदेश, संघीय सरकार र सामाजिक संघ संस्थाबाट लगानीका लागि साझेदारीको अपेक्षा गरेका छौ ।”
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले पार्क बनाउन १० रोपनी जग्गाको खाली र उपभोग विहिन जग्गाको व्यवस्थापन गरिएको बताउनुभयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष दधिवल खड्काले सामाजिक कार्यक्रम अन्तरगत बेनीमा पार्क बनाउन सहयोग गर्न मोना इच्छुक रहेको बताउनुभयो । उद्यानमा सार्वजनिक उपभोगका लागि मोना घर बनाउन इच्छुक रहेको खड्काले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बेनीमा पार्क बनाउन आवश्यक रहेको र जग्गा पनि व्यवस्थापन भइसकेकाले अब योजनाको कार्यान्वयनमा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गर्न प्राथमिकता दिने बताउनुभयो ।
“बेनीमा पार्क बनाउन अति आवश्यक महशुस गरेको विषय हो,” गत महिना पार्क निर्माण स्थलको निरिक्षणका क्रममा उहाँले भन्नुभयो “पार्क निर्माणका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा म लविङ गर्छु । यो योजना सबै मिलेर कार्यान्वयन गर्न सकियो भने बेनीको पर्यटन क्षेत्रमा पनि दिर्घकालिन लाभ हुन सक्छ ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...