बेनी, गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा १६८ वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालयले ६७ र स्थानीय तह मार्फत १०१ वटा झोलुङ्गे पुल निर्माण हुन लागेको जनाएको छ । मन्त्रालय अन्तरगतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाले झोलुङ्गे पुल निर्माणका लागि यस वर्ष रु. ५२ करोड ८७ लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
“पूर्वाधार विकास कार्यालयहरुले छ वटा र मन्त्रालयको प्राबिधिक सहयोगमा स्थानीय तहहरुले ३० वटा झोलुङ्गे पुल चालु आर्थिक वर्षको साढे चार महिनाको अवधिमा निर्माण गरिसकेका छन्,” उहाँले भन्नुभयो “झोलुङ्गे पुल बनाउन पूर्वाधार विकास कार्यालयहरुमा रु. बीस करोड ५७ लाख र स्थानीय तहमा रु. ३२ करोड तीस लाख बजेट बिनियोजन भएको छ ।”
पूर्वाधार विकास कार्यालय मार्फत १० वटा झोलुङ्गे पुल निर्माणाधिन छन भने १३ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको निर्देशक बानियाले बताउनुभयो । १४ वटा झोलुङ्गे पुलको डिपिआर भेरिफिकेशनको चरणमा रहेको र २४ वटाको डिपिआर तयार पार्न बाँकी रहेको छ ।
मन्त्रालयले स्थानीय तहहरुलाई झोलुङ्गे पुल निर्माणका लागि प्राबिधिक सहयोग गर्न प्रदेशका ११ वटै जिल्लामा एक÷जना प्राबिधिक जनशक्ति परिचालन गरेको छ । गण्डकी प्रदेशमा हालसम्म दुई हजार ६४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । झोलुङ्गे पुलको जिल्लाको पहिचान बनाएको बाग्लुङ्गमा सबैभन्दा बढी ४९१ वटा पुल बनेका छन् ।
मन्त्रालयका सचिव शंकर प्रसाद पण्डितका अनुसार नेपालमा सन् १९६४ मा सस्पेन्सन ब्रिज डिभिजन स्थापना भएपछि स्विस सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माणले तिब्रता पाएको हो । पर्वतमा लामो र अग्ला स्थानमा पुल निर्माण भएको छ । पर्वतको पाङ देखि बाग्लुङ जोड्ने पुल लामो र कुश्मा देखि कटुवा चौपारी जोडिने पुल अग्लो छ ।
एक अध्ययन अनुसार झोलुङ्गे पुल प्रयोग गर्ने नागरिकहरू पिछडिएको समुदायमा छन् । बढी महिलाले यसको प्रयोग गर्छन् । घाँस दाउरा देखि दैनिकी चलाउन पनि महिलाले झोलुङ्गे पुल प्रयोग गर्ने गरेको उक्त अध्ययनमा उल्लेख छ । “पहिले खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुने गरेको थियो,” निर्देशक बानियाले भन्नुभयो “अहिले बाटो र समय छोट्याउन पुलको माग आउन थालेको छ ।”
मन्त्रालयले प्रयोग विहिन झोलुङ्गे पुलहरुको विवरण संकलन र स्थानान्तरण गर्न पाउने कानुन बनाउन जुटेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले स्थानीय तहहरुसँगको समन्वयमा निर्माण गर्नुपर्ने पुलको माग र प्रयोग विहिन पुलको विवरण संकलनको तयारी गरेको बताउनुभयो ।
“सडक र मोटरेबल पुल बनेपछि कतिपय झोलुङ्गे पुलहरु प्रयोग विहिन बनेका छन्,” उहाँले भन्नुभयो “प्रयोग विहिन पुलका स्टिल डेग, लठ्ठा, बुल्डअफ ग्रिप लगायत सामग्रीलाई आवश्यक भएको अर्को ठाउँमा स्थानान्तरण गर्नका लागि प्राबिधिक अध्ययन र नीति निर्माणको गृहकार्यमा छौ ।” सडक यातायातको सुविधा नपुगेको वस्ती र पर्यटकीय पदमार्गहरुमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।