बेनी, । समाजवादी मोर्चा म्याग्दीले यही मंसिर २३ गते शनिबार बेनीमा घोषणा सभा गर्ने भएको छ ।
सभालाई सम्बोधन गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत म्याग्दी आउनुहुने मोर्चामा नेकपा माओवादी केन्द्रबाट सहभागि हुनुभएका नेता बिनोद केसीले जानकारी दिनुभयो ।
“माओवादी केन्द्रको तर्फबाट पार्टीका उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेत आउने तय भएको छ,” उहाँले भन्नुभयो “मोर्चामा आवद्ध अरु दलको तर्फबाट पनि नेताहरु आउनुहुुन्छ । को को आउनुहुन्छ भन्ने तय हुन बाँकी छ ।”
नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई मोर्चाको उद्देश्य र योजनाका बारेमा जानकारी गराउने तथा समसायिक राजनीतिक परिवेशको विषयमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हुन् ।
म्याग्दीमा मन्त्री बस्नेतले मन्त्रालय मातहतका निकायले सञ्चालन गरेका योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको छ । राहुघाट जलविद्युत आयोजना, डाडाखेत राहुघाट प्रशारण लाइन, बेनी बजार संरक्षण आयोजनाको अनुगमन गर्नुहुने जनाइएको छ । घोषणा सभाको तयारी तिब्र पारिएको मोर्चाले जनाएको छ ।