बेनी अस्पतालको भवन निर्माणले गति लियो

khali

बेनी, । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यले गति लिएको छ । सरोकारवालाहरुको दवाव र सहजिकरण पछि ठेकेदारले अस्पताल भवन निर्माणलाई गति दिएका हुन् ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवनको ढलान गर्ने काम करिब सकिएको जानकारी दिनुभयो । “अन्तिम तलाको ढलान बिहिबार सकिदैछ,” उहाँले भन्नुभयो “दुई वटा झ¥याङको स्याव र ¥याम्प निर्माणलाई पूर्णता दिन बाँकी छ ।”

पछिल्लो दुई महिनायता भवन निर्माणको कामले निरन्तरता पाएकाले आशा जागेको अध्यक्ष सुवेदीले बताउनुभयो । बुधबार र बिहिबार सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङका दुई जना प्राविधिक र अध्यक्ष सुवेदीको निगरानीमा भवन ढलान गरिएको छ ।

Shreekrishna hardwear in news

गत असार अन्तिम साता गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.बिनोदबिन्दु शर्मा लगायतको टोलीले भवन निर्माण कार्यको निरिक्षण गरि गति दिन निर्देशन दिनुभएको थियो ।

मन्त्री जुग्जालीले निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीलाई फोन गरेर जनशक्ति थप र निर्माण सामग्री व्यवस्थापन गरेर तिब्रता दिन निर्देशनका साथै रोकिएको भवन निर्माण कार्य अघि बढाउन सहरी विकास कार्यालयसँग समन्वय र सहजिकरण गर्नुभएको थियो ।

एक वर्षअघि भुतबंगला रहेको भवन निर्माण कार्यले हाल भवनको रुप लिएको बताउदै प्रदेश सांसद हरि भण्डारीले स्वास्थ्य सेवासँग जोडिएको भवनलाई जति सक्दो छिटो सम्पन्न गराउन निरन्तर निगरानी, समन्वय र सहजिकरण गरिने बताउनुभयो ।

यसअघि वि.स. २०७७ देखि रोकिएको भवन निर्माणको काम गत चैत देखि असार सम्म भएपछि पुन रोकिएको थियो । नयाँ भवन निर्माण नहुँदा ५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने समस्या छ । नयाँ बनाउन पुरानो भवन भत्काइएकाले छ वर्षयता अस्पतालले अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

khali

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ७० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको एउटा भवनको एउटा तला ढलान, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ ।

निर्माण कम्पनीका प्रतिनिधि जोशीले गरेको कामको भुक्तानी समयमा नपाउँदा निर्माण कार्य प्रभावित भएको बताउदै आउनुभएको छ । भवन निर्माणमा भएको ढिलासुस्तिका विषयमा पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिका साथै संघ संस्थाहरुले सम्बद्ध कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराउदै आएका छन् ।

मन्त्री जुग्जाली र सांसद भण्डारीले गत फागुनमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिवालय मार्फत मन्त्रालयका सचिव, विभागका महानिर्देशक र साझेदार महादेव खिम्तीका सञ्चालक समेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई फोन मार्फत ताकेता गराउनुभएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सिंह लगायतका निर्माण व्यवसायीको फोटो सामाजिक सञ्जालमा राखेर दवाव दिनुभएको थियो । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन र कोरोनाका कारण देखाएर चौथो पटक म्याद थप भएको छ ।

नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

“पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ,” अस्पतालका प्रमुख चिकित्सक अञ्जु थापाले भन्नुभयो “विशेषज्ञ चिकित्सक आउनै मानेका छैनन् । म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम पनि भवन नबनेकाले अन्यत्र जिल्लामा गयो ।’’

सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...