
बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ ।
चिनिया पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले नाका खुल्ने जानकारीसँगै स्थानीयबासीमा खुसीयाली छाएको बताउनुभयो ।
“सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कुटनिटिक पहल सफल भएको छ,” उहाँले भन्नुभयो “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरु परिचयपत्रको आधारमा आवत जावत गर्न पाउने छन् ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो साता भएको भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । मुस्ताङ र चिनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चार पटक वार्ता भएको थियो ।
कोरोना महामारी फैलिएपछि वि.स. २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको छ । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय ब्यापार मेला हुने गरेको थियो ।


कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना भन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चिन सिमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।
“प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चिन जाने आउने सुविधा पाउनेछन्,” उहाँले भन्नुभयो “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिको तयारी गरिएको छ ।”
नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोम देखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चिनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि.स. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।
वि.स. २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाहरुलाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।
