बादुकबासीले कल्लेरीको पाखोमा झाडी फाडेर हराभरा सुन्तला बगैचा बनाए

Gandaki Ghumau

सन्तोष गौतम
बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघि सम्म ६÷७ घरधुरीको बसोबास र बादुकबासीले कोदो, मकै, गहुँ खेती गर्ने बारी थियो ।

वि.स. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्तीनै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तिस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो ।

बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजा लगायतले वि.स. २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाउनुभयो । बादुकबासी र जनप्रतिनिधिहरुलाई बाँझिएर बनेको झाडी फाडेर खनजोत गरि सुन्तला र एभोकाडो खेती गर्ने योजना मन प¥यो ।

Shreekrishna
default

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु. पचास हजार देखि एक लाख संकलन गरेर बादुक सामुहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाडेर सुन्तलाको हराभरा बगैचा बनाएका छन् ।

“पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रुपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौ,” वादुकका बासिन्दा समेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भन्नुभयो “सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाडेर सुन्तला बगैचा बनाउन सफल भएका छौ ।”

Gunasthariya Shiksya

१३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन् । सुन्तलासँगै ४०० बोट एभोकाडो लगाएकोमा पहिरोले क्षति गरेर अहिले १०० बोट मात्र छन् । पहिरोले ३०० बोट एभोकाडीमा क्षति गरेको छ । सुन्तला बगैचाभित्र तोरी खेती र मौरीपालन गरेका छन् ।

“पुर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यवसायिक हिसाबले सामुहिक खेती गरेका हौ,” स्थानीय बेगबहादुर पुर्जाले भन्नुभयो “झाडी फाड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौ । अहिलेसम्म सोचेको भन्दा राम्रो भएको छ ।”

उहाँका अनुसार ५५ जनाले रु. एक÷एक लाख र पाँच जनाले रु. पचास÷पचास हजार सेयर लगानी गरेका छन् । फार्म स्थापना गर्न हालसम्म करिब रु. ४० लाख खर्च भएको छ । फर्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामुहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरुको भनाई छ । जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन् ।

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीन वटा जर्सी जातको गाई र एक वटा साँधे पालिएको छ । गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ । सेयर लगानी गरेकाहरुबाट सुन्तलाले उत्पादन नदिदासम्म वार्षिक रु. दुई हजार पाँच सयका दरले नगद अथवा पाँच दिन बराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन् । बगैचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट संकलन गरेको रकम परिचालन गरिएको छ । रु. बीस लाखको कोषबाट अर्का एक जना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामुहिक सुन्तला खेतीलाई सहयोग गरेको छ । कल्लेरीमा सिचाई योजना निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु. बीस लाख बजेट बिनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

“बादुकको सामुहिक सुन्तला खेती म्याग्दी जिल्लामै नमुना देखिएको छ,” सांसद भण्डारीले भन्नुभयो “बाँझिएको जमिनलाई सदुपयोग गरि रोजगारी सिर्जना र गाउँलाई सम्बृद्ध बनाउन बादुक बासीको अभियान अरुका लागि पनि अनुकरणीय छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...