बेनी, म्याग्दीको ग्रामिण क्षेत्र खेलकुदमय भएका छन् । दशै, तिहारको अवसर पारेर ग्रामिण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगिता आयोजना भएका हुन् ।
युवा क्लवहरुले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारहरुको गित, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
“आठ वटा वडा रहेको हाम्रो रघुगंगा गाउँपालिकाको बादुक, भगवति र कोटगाउँमा वडादशैको अवसरमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “मेलापर्वले ग्रामिण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गित तथा नृत्यको कला प्रस्फुटनको अवसर मिलेको छ ।”
रघुगंगा गाउँपालिका–१ को बादुक भूमे युवा क्लवले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौद्ध भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताको साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी, पुर्व प्रदेश सांसद बिनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गर्नुभयो ।
सोही अवसरमा गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुननिर्माण भएको बादुक खेलमैदान, सिंगापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु. चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइवर बोर्डको पनि उद्घाटन गरिएको थियो ।
बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख पन्ध्र हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगंगा गाउँपालिकाको वडा नम्बर २ भगवतिमा बडादशैको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी पनि रु. एक लाख भन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दशै मेला सकिएको थियो ।
मालिका २ रुममा भलिबलर वडा नम्बर ५ को देविस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देविस्थानको फुटबल प्रतियोगिताको बिजेतालाई पनि रु. एक लाख भन्दा बढी पुरस्कार राखिएको छ ।
सहरबजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवा युवति, विदेशबाट आएका प्रवासी र गाउँघरका जागिरेहरु चाडपर्वको विदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लवका लोकेन्द्र गर्बुजाले बताउनुभयो । मेलामा स्थानीय मौलिक गित र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुख्यौली गितमा नृत्य गर्ने गर्दछन् ।
बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । ग्रामिण क्षेत्रमा आयोजना भएको खेलकुद प्रतियोगिताबाट उत्पादन हुने खेलाडीहरुलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर मिलाउने उहाँहरुले बताउनुभयो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्टान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा विसी लगायत म्याग्दीका धेरै खेलाडीहरु प्रदेश, विभिन्न क्लव र राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका छन् । उनिहरु ग्रामिण क्षेत्रमा आयोजना हुने खेलकुद प्रतियोगिताबाटनै बाहिर आएका हुन् ।