बेनी, रु. तीन लाख तीस हजार तिरेर म्याग्दीको रघुगंगा गाउँपालिका –२ को राखु भगवती कोत मन्दिरमा महानवमीको दिनमा बलि चढाइएको सरकारी राँगो मार हानिएको (काटिएको) छ ।
रघुुगंगा गाउँपालिका –२ सिललगाउँका एकेन्द्र भण्डारीले बढी बढाउमा सो रकम बोलकबोल गरेर सोमबार महानवमीको दिन भगवति कोतमा सरकारी राँगो मार हान्नुुभएको हो । बडादसैंको आठौं दिन कालरात्रिमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको थियो ।
एक घण्टाको समयसीमामा भएको बढीबढाउमा पाँच जनाबीच भएको प्रतिस्पर्धामा भण्डारीले सबैभन्दा धेरै तीन लाख ३० हजार रुपियाँ रकम तिर्ने बोलकबोल गरेर सरकारी बलिको मार हान्नुुभएको भगवति कोत मन्दिर पुुजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुुर शाहीले जानकारी दिनुुभयो ।
“भण्डारीले आइतबार नै कबोल गरेको रकम पूजा व्यवस्थापन समितिलाई तत्कालै उपलब्ध गराइसक्नु भएको छ,” उहाँले भन्नुुभयो “पूजा व्यवस्थापन समितिले सरकारी राँगाको बढीबढाउको सुरुवाती मूल्य रु. ६७ हजार कायम गरेका थियौ ।”
यसअघि वि.स. २०७९ मा रु. तीन लाख १५ हजार, २०७८ मा रु. तीन लाख, २०७६ मा रु. दुुई लाख असी हजार कबोलेर सरकारी राँगो मार हानेका थिए । महानवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांंक्षा पूरा हुने विश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनोट हुने गर्छ ।
कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित गाउँ घुमाउँदै सम्मान गरेका थिए । राँगोको मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको दावी स्थानीयबासी समेत रहनुुभएका गण्डकी प्रदेशसभा सदस्य हरि बहादुुर भण्डारीले बताउनुुभयो ।
“ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । आफूले चाहेको पूरा गराउन यहाँ मार हान्नका लागि भाकल गर्ने गरिन्छ,” भगवति कोत मन्दिर पुुजा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष थानबहादुुर भण्डारीले भन्नुुभयो “आँटेको र चाहेको पूरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दैगएको छ ।”
बाइसे चौबीसे राज्यका पालामा १७ औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुरानो र ऐतिहासिक कोतको सूचीमा पर्छ । चैते र बडादसैँको अवसरमा विशेष पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दसैँको पूजामा यहाँ बलि चढाउने चलन अझै जीवित छ ।
तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४ औँ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।