बेनी, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ का विपन्न, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई वडा दशैका लागि खाद्यान्न र खुद्रा नोट वितरण गरिएको छ ।
बेनी नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा शनिबार २० जनालाई रु. चार हजार बारबरको खाद्यान्न र रु. एक हजारको खुद्रा नोट वितरण गरिएको हो । विपन्न, अशक्त नागरिकलाई दशै पर्व मनाउन सहज होस भनेर सहयोग गरिएको वडा अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीको उपस्थितिमा वडा कार्यालयमा सामग्री र खुद्रा नोट वितरण गरिएको थियो । वडा कार्यालयमा आउन नसकेका अशक्त नागरिकहरुलाई घरमै पुगेर खाद्यान्न र खुद्रा नोट दिइएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । ५ जना अपांग, ९ जना दलित, छ जना विपन्न जेष्ठ नागरिक ६ जनालाई सहयोग गरिएको हो ।
यसअघि बेनी नगरपालिकाको वडा नम्बर ७ ले शुक्रबार आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका २० जना बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ ।
प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी, ३ लिटर तेल लगायत छान्सामा पाक्ने मरमसला र नगद रु. एक हजार वितरण गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दशैंमा चुह्लो नबल्ने परिवारलाई सहयोग गरेका छौ,” उहाँले भन्नुभयो “दशैंमा भात नै खान मुस्किल हुने अवस्था रहने कति दुःखद छ ।”