वेतिथिलाई उजागर गरेको शिव सस्मितको कुरैकुराको खेती सार्वजनिक

Gandaki Ghumau

बेनी, । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गर्नुभयो । लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालपछि सुस्ताएर गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे ।

अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफसलको साहित्यलाई हेर्ने दृष्ट्रिकोणलाई लक्षित गदै भन्नुभयो, “हाम्रो साहित्यले अन्धराष्ट्रवाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।”

Shreekrishna

सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त साहित्यकारका रूपमा चित्रित गर्नुभयो । उहाँले गणितको विषयवस्तुलाई अध्ययन गरेर त्यसलाई अगाडि पस्किन सक्यो भने पठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवासमेत गर्नुभयो ।

Gunasthariya Shiksya

पेसाले मावि तहका गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो । यसअघि धुमिल आकाश (शैक्षिक उपन्यास), विलोकन (मुक्तक सङ्ग्रह), बहाव (गजल सङ्ग्रह), र डायरीमा टाउके (हास्यव्यङ्ग्य) निबन्ध सङ्ग्रह प्रकाशित छन् । कुरैकुराको खेती भुँडपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

समिक्षक रामप्रसाद सुवेदीले पुस्तकको “कुरैकुराको खेती” उत्कृष्ट कृतिका रूपमा आएको बताउनुभयो । सुवेदीले अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट भाषाशैलीमा अभिव्यक्ति दिएको भनाइ राख्नुभयो । लघु आकारका निबन्धमार्फत विसङ्गतिविरुद्ध विद्रोहका रूपमा “कुरैकुराको खेती” आएको बताउनुभयो ।

लेखकीय भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभए पनि सामाजिक, राजनैतिक, शौक्षिक बेथितिले प्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि जन्मिएको आफ्नै अनुभवको सङ्ग्रह भएको बताउनुभयो । विभिन्न समयमा आफूले भोगेका दुःख, दर्द र भोगाइलाई इमानदार भएर लेखेको उहाँको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा. षडानन्द पौडेल, विनेसामका केन्द्रिय सङ्गठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष भूपति बस्याल, प्रकाशक भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आचार्यले स्वागत र सचिव प्रेम थापा मनले सञ्चालन गर्नुभएको थियो । अनलाइन मोडमा सञ्चालन भएको कार्यक्रममा संसारभरका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...