पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनमा अन्नपूर्णको प्राथमिकता

Gandaki Kotihome

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटन सम्बन्धी योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड बिनियोजन गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले शुक्रबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रर्वद्धनका लागि सो बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

“अन्नपूर्ण गाउँपालिकामा पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, संघीय र प्रदेश सरकारबाट रु. पाँच करोड भन्दा बढी बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “पर्यटन मार्फत गाउँपालिकालाई चालु आर्थिक वर्षमा रु. एक करोड ३० लाख भन्दा बढी आम्दानी भैसकेको छ ।”

Shreekrishna hardwear in news

अन्नपूर्ण हिमाल, अन्नपूर्ण आधार शिविर, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोडेपानी, पुनहिल, मोहरेडाडा, खोपारा, करबाकेली, खयरभारानी ताल, तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण चक्रीय, अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको छ । साउन र भदौ महिनामा मात्र दुई हजार ६९९ जना पर्यटकले अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमण गरेका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार संघीय सरकारबाट रु. दुई करोड पाँच लाख, गाउँपालिकाबाट रु. एक करोड ७४ लाख र प्रदेश सरकारबाट रु. एक करोड तीस लाख बजेट बिनियोजन भएको छ । संघीय सरकारबाट बिशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण शुरु भएको छ ।

Notice about ban dadalo

संघीयबाट रु. पचास÷पचास लाख शसर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप रु. पचास÷पचास लाख बिनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब रु. एक करोडको लागतमा भुरुङ्ग तातोपानी देखि पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्ग पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ ।

संघीय सरकारको रु. १५ लाख र गाउँपालिकाको रु. १६ लाख बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप रु. बीस लाख बिनियोजन गरेको छ । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरुको नक्साङकन गर्न रु. १५ लाख, अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन रु. १५ लाख, समग्र पर्यटन प्रर्वद्धन सम्बन्धी कार्यक्रमका लागि रु. आठ लाख, पोर्टर, टे«कीङ गाइड सम्बन्धी तालिमका लागि रु. १५ लाख बिनियोजन भएको छ ।

पर्यटकीय स्थलहरुको जानकारीमुलक ब्रोसर बनाउन रु. दुई लाख र सूचना बोर्ड बनाउन रु. पाँच लाख बिनियोजन भएको छ । गाउँपालिकाले बिनियोजन गर्न बाँकी बजेटबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र पूर्वाधारका लागि थप रु. ७० देखि ८० लाख बजेट प्रस्ताव गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट रु. एक करोड ३० लाख बढी राजस्व उठेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ । अग्रिम रूपमा रकम जम्मा गरेका कारण कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो । ––– सन्तोष गौतम

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...